तनावमा गर्भवति महिला : संक्रमणको बेला कसरी जोगिने ?

कैलाली, २९ वैशाख । कोरोना भाइरस संक्रमणको दोस्रो भेरियन्ट सहितको भाईरस शरहदेखि गाउँ सम्म तीब्ररुपले फैलिरहेको छ । यो बेला कोभिड अस्पतालमा मात्रै नभई अन्य अस्पताहरुमा पनि कोभिड वाड सञ्चालन भईरहेको हुँदा गर्भवती तथा सुत्केरी महिलाहरु बढी तनाबमा छन् ।

घोडाघोडी नगरपालिका वडा नं. ४ का २८ वार्षीष राजरानी चौधरी साढे आठ महिनाकी गर्भवति छिन् । डाक्टरले उनलाई जेठ ६ गते प्रसुति हुने समय दिएको छ । अहिले उनी मानसिकरुपले एकदमै तनाबमा छिन् ।

गर्भ जाँचकोलागि यहि वैशाख १४ गते धनगढी आएकी राजरानी गाउँ जान नपाउँदै निषेधाज्ञमा फसिन् । अहिले आफ्नो आफन्तको घरमा बस्दै आएकी छिन् । उनको श्रीमान सोहन चौधरी जनपथमा छन् । जागिरको शिलशिलामा श्रीमान बैतडीको सदरमुकाम पातनमा कार्यरत छन् ।

राजमति भन्छिन् ‘सरकारले सुत्केरी स्याहार विदा भनेर पुरुषहरुलाई पनि विदा दिने नियम बनाएको छ, तर यो निषेधाज्ञाले मेरो श्रीमान विदा पाउँने हुन् कि होईनन् तनाव छ ।’ यस्तो बेला श्रीमानको धेरै आवश्यकता महशुस हुने गरेको उनी बताउँछिन् ।

उनलाई श्रीमानको आवश्यकतासंगै डर पनि उतिकै छ । किनकी उनको श्रीमान अहिले नियमित फिल्डमा छन् ।
निषेधाज्ञा भन्दा पहिला ऐक्सरे गराउँदा बच्चाको स्वास्थ्य अवस्था राम्रो थियो । तर पनि कोभिडको कारणले कसरी बच्चा जन्माउने भन्ने उनलाई चिन्ता ठूलो छ । ‘एकदमै डर लाग्छ । भगवान भरोसामा बाँचिरहेको छु ।’

टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको थियो । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा छन्। जागिरे रमिलालाई कार्यालयले कोरोना संक्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उनलाई अस्पतालसम्म कसरी जाने भन्ने चिन्ताले सताएको छ ।

‘आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भनेका थिए । अस्पतालमा कोरोना संक्रमणका बिरामी धेरै छन्। अस्पताल गए आफूपनि संक्रमित हुने हो कि भन्ने डर छ ।’

उनी भन्छिन् ‘घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि ! निकै डर लाग्छ ।’
धनगढी उपमहानगरपनलिका २ का २५ वर्षीया सविता चौधरीलाई पनि डाक्टरले जेठको अन्तिम सातामा सुत्केरी मिति दिएको छ । उनी धनगढी स्थित नवजीवन अस्पतालमा गर्भ जाँच गराईरहेका छन् ।

धनगढीमा कोरोना संक्रमण दर उच्च भएपछि निजी अस्पताललेपनि कोरोना वार्ड सञ्चालनमा ल्याएका छन् । जसमा नवजीवन अस्पतालपनि पर्दछ। ‘अस्पतालमा कोरोनाका विरामी भर्ना भएको खबर हुँदा हुँदै कसरी जाने भन्ने डरले चिन्तित छु ।’ उनी यो महामारी छिट्टै सकिदिए हुन्थ्यो भन्दै हरेक दिन भगवानलाई पुकारी रहेको सुनाईन् ।

सोही ठाउँका इन्द्रानी चौधरी पनि पहिलो पटक गर्भवती भएकी छिन्। उनको श्रीमान् टोलमै मेडिकल औषधी पसल खोलेर बसेका छन् । श्रीमान् दिनभरि ज्वरो रुघाखोकी लगायतका विरामीहरुसंग व्यस्त हुन्छन् जुन कारण उनलाई घेरै तनाब छ ।
डाक्टरले उनलाई यहि महिनाको अन्तिममा प्रसुति हुने समय दिएको छ । उनी शुरुदेखि सेती प्रादेशिक अस्पतालमा नै गर्भ जाँच गरिरहेको कारण बच्चा पनि सेतीमा नै जन्माउँने सोचमा छन् तर कोरोनाका बिरामीले अस्पताल भरिएको सुन्दा मन आत्तिने गरेको उनी बताउँछिन् ।

यस्तै रुपनी शर्माको पनि सुत्केरी मिति नजिकिएको छ। अहिले उनी दोस्रो बच्चा जन्माउँदै छिन् । ‘पहिलो बच्चा शल्यक्रिया गरी जन्माएको हो । शल्यक्रिया गर्दा एक साता बढी अस्पताल बस्नु परेको थियो, यस पटक के हुने हो भन्ने चिन्ता छ ।’
‘पहिलो बच्चा पनि सानो छ। कस्तो रोग आयो, आफ्नै मान्छे पनि नजीक आउन डराउनु पर्ने, अस्पताल जान समेत डर लाग्ने ।’

समुदाय स्टरमा नै कोरोना संक्रमण फैलिसकेकोले यस्तो बेला सुत्केरी र गर्भवती बढी सुरक्षित हुन आवश्यक छ । टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले सेवा नियमित भए पनि गर्भवतीहरु डरले अस्पताल आउन नसकेको बताईन् ।

अस्पतालले समस्यामा रहेका गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट पनि परामर्श दिईरहेको छ । अहिले टीकापुर अस्पतालमा सातामा दुई दिन गर्भ परीक्षण सेवा दिइन्छ। सातामा ७० जनासम्म गर्भवती सेवा लिन आउने गरेको स्टाफ नर्स खड्काले बताइन् ।उनले यस्तो बेला खानपिनमा एकदमै ध्यान दिन सुझव दिईन् ।

यस्तै नवजीवन अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर जयराज केसीले संसराभरि फैलिरहेको महामारीको बेला जुनसुकै अस्पतालमा संक्रमित विरामीहरु उपचारमा छन् । यस्तो बेला सुत्केरी हुन आउने विरामी स्वास्थ्य मापदण्द पूर्णरुपले पालन गर्नुपर्ने सुझाब दिए ।

गर्भवती तथा सुत्केरीहरुको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले सर्तकता अपनाउन अति नै आवश्यक हुन्छ । घरमापनि सकेसम्म एक्लो बस्ने, भिडभाडमा नजाने, संयूक्त परिवार भए घर भित्रपनि मास्क लगाउने, सरसफाईमा विशेष ध्यान दिए संक्रमण हुनबाट जोगिन सक्ने डा. केसीले बताए ।

डा. केसीका अनुसार नवजीवन अस्पतालमा महामारी आउनुपुर्व दैनिक २५ देखि ३० जनाले सेवा लिइरहेका थिए तर अहिले एकदमै गाह्रो अवस्थामा मात्रै अस्पताल आउन सुझाव दिएका छौं । तर पनि दैनिक ८ देखि १० जना सम्म सेवा लिईरहेका छन् ।

उनले धेरै विरामीलाई फोनबाटै परामर्शहरु दिईरहेको बताए । सुत्केरी हुन आउने विरामी बढि भन्दाबढि सजकता अपनाउनु पर्ने बताउँदै कोभिड पोजेटिभ देखिएको सुत्केरीहरुलाई सेती प्रादेशिक अस्पतालमा रेर्फर गर्ने गरेको बताए ।