कोरोना संक्रमणबाट देशभर २२५ जनाको मृत्यु, सुदूरपश्चिममा मात्रै ३१ जना
धनगढी, २८ वैशाख । पछिल्लो २४ घण्टामा देशभरी थप दुई सय २५ जनाको मृत्यु भएको छ । जस मध्ये सुदूरपश्चिम प्रदेशमा मात्रै ३१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर दुई सय २५ जनाको मृत्यु भएको आज पुष्टि भएको हो। जसमध्ये ७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रालयको तथ्यांकमा नआएका, तर नेपाली सेनाले दाहसंस्कार गरेको व्यक्तिको आज अपडेट गरिएको छ। जसले गर्दा मृत्यु हुनेको संख्या दुई सय २५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार प्रदेशका बिभिन्न जिल्लामा उपचाररत ३१ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।
सबै भन्दा बढि कञ्चनपुरमा १६ जना कैलालीमा १० जना बझांगमा २ अछाम, बैतडी र डडेलधुरामा १÷१ जनाको मृत्यू भएको हो ।
यस्तै प्रदेशमा ८१८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७ सय २३ जनाको परीक्षण गर्दा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै २४ घण्टामा थप २८१ जना कोरोना मुक्त भएका छन् ।
मुलुकमा मृत्यु हुनेको संख्या पनि चार हजार नाघेको छ। अहिलेसम्म कोरोनाबाट चार हजार ८४ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार चार सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ। यो पनि अहिलेसम्मकै बढी हो।
देशभर २१ हजार तीन सय १६ जनाको स्वाब परीक्षण गरिएको थियो। जसमध्ये २० हजार पाँच सय ९६ पीसीआर र ७२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ। त्यस्तै, सक्रिय संक्रमितको संख्या पनि बढेर ९७ हजार आठ पुगेको छ।













