खाद्य, तरकारी र फलफूल पसल अब हप्ताको ३ दिन मात्रै खुल्ने

धनगढी, २८ वैशाख । कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्बिएको छ।

कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। साथै निषेधाज्ञामा थप कडाई समेत गरिने निर्णय गरेको छ ।

असअघि हप्ताको सातै दिन खुलिरहेका खाद्य, तरकारी तथा फलफूलका पसलहरु अब ३ दिन मात्रै खोल्न पाइने छ।

अब स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल तथा व्यवसायहरु हरेक मंगलबार, बिहिबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

ती पसलहरु पनि जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गरेर मात्रै सञ्चालन गर्न पाइने निर्णय भएको छ । साथै सो अवधिमा अत्यावश्यक मालसामान ढुवानीका साधन बाहेक अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न नदिने निर्णय समेत भएको छ।