अधिकांश अस्पतालमा अक्सिजन र सिलिन्डरको हाहाकार
काठमाडौं, २७ बैशाख । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डरको हाहाकार भएको छ ।
अहिले अधिकांश कोरोना संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले वेडमै छटपटाउनुपर्ने बाध्यता छ ।
अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमितको उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए ।
‘के गर्ने होला ? अस्पतालमै पनि रहेनछ,’ उनी भन्छन्, ‘अब कहाँ खोज्न जाने होला ? ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्पष्ट पारेको छ ।
उसले आइतबार सूचना जारी गर्दै अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो । सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएपछि बिरामी उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै उपचार गर्न असमर्थ रहेको अस्पतालले जनाएका छन् ।
‘अस्पतालले अक्सिजन छैन भन्यो अनि खाली सिलिन्डरसहित अक्सिजन खोज्दै बालाजु औद्योगिक क्षेत्र आएको हुँ,’ संक्रमितका एक आफन्तले भने ।
यसअघि, अल्का अस्पताल, मेडिकेयर अस्पताल, लिमिटेड, नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिङ ह्यान्डले अक्सिजन अभाव भएको बताएको छ ।













