गेटा मेडिकल कलेजमा यसरी बन्दै छ आईसोलेशन

कैलाली, २३ वैशाख । कोरोना संक्रमणको दोस्रो भेरियन्ट सहितको भाइरसले सुदूरपश्चिमका अस्पतालहरु भरिएपछि, कैलालीमा पाँच सय शैयाको आईसोलेशन गेटा मेडिकल कलेजमा बनिरहेको छ ।

कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजको भवनमा सरकारले ५ सय शैयाको आईसोलेशन बनाउने काम तिब्र पारेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।

संघीय सरकारले वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिमको महामारीका फोकल पर्सन तोकेपछि, सोमबारदेखि नै आईसोलेशनका लागि काम शुरु भएको छ । मन्त्री लेखराज भट्ट सोमबार बिहान अनुगमन समेत गरेका थिए ।

कैलालीको गोदावरी नगरपालिकामा पर्ने उक्त मेडिकल कलेजमा स्थापना हुने आईसोलेशनको व्यवस्थापनको जिम्मा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई दिएको छ । ‘त्यहाँको सबै ब्यवस्थापन धनगढी र गोदावरीले गर्ने गरी छलफल भएको छ, दुबै स्थानीय तहका मेयर पनि त्यसका लागि तयार छन् ।’ जिल्ला कोभीड संकट व्यवस्थापन समिति (डीसिसिएमसी) को मातहतमा रहने गरी पाँच सय शैयाको आईसोलेशन निर्माण भईरहेको छ ।

गेटा मेडिकल कलेजमा तीन सय शैयाको अस्पताल र कलेज भवनको निर्माण अन्तिम चरणमा छ। त्यहाँ खानेपानी र विद्युतको आपुर्ति गर्ने बित्तिकै त्यसलाई आईसोलेशनका रुपमा सञ्चालनमा ल्याउन सकिने देखेर सरकारले मेडिकल कलेजको भवन रोजेको हो ।

खानेपानीका लागि अत्तरिया खानपानीको पाइपलाइन जोडिने भएको छ। आईसोलेशन सेन्टरका लागि चाहिने आईसीयु, भेन्टीलेटर, शैयाहरु, अक्सिजन जस्ता सामाग्रीको तुरुन्त सप्लाईका लागि एक्सन टीम बनाएर काम अगाडी बढाएको स्वकिय सचिव ओझाले बताए।

‘स्वास्थ्य मन्त्रालयले आईसोलेशनमा चाहिने चिकित्सकहरुको व्यवस्थापन गर्छ, त्यहाँका लागि छुट्टै स्वास्थ्यकर्मीको टीम हुन्छ, स्टाप नर्ससहितका प्यारामेडिक स्टापका लागि गोदावरी नगरपालिका र धनगढी उपममहानगरपालिकाले करार सेवामा लिने गरी तयारी गरेको छ ।’