मुलुकमा एकै दिन थपिए ८६५९ संक्रमित, ५८ जनाको मृत्यु

काठमाडौं, २२ वैशाख । आज मुलुक भर आठ हजार ६५९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा आठ हजार ६५९ जना संक्रमित थपिएका हुन्। आज २१ हजार ३२२ जनाको स्वाब परीक्षण गरिएको थियो।

उनीहरूमध्ये पीसीआर परीक्षणबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ। सक्रिय संक्रमितको संख्या पनि बढेर ६६ हजार ३५२ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएका छन्। मंगलबार ५५ जनाको ज्यान गएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ९९३ जनाका निको भएका छन् ।

त्यसै गरि पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधवार कैलालीका ४ कञ्चनपुरका २, अछाम, डडेल्धुरा, डोटी, बाजुरा, बैतडीका एक÷एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्बर ३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ३६ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय पुरुषको मृत्यु भएकोे स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेज बिक्रम शाहीले बताए ।

बैतडीको पाटन नगपालिकाका ४४ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा र बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ३ की ५५ वर्षीया महिलाको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।