सुदूरपश्चिममा कोरोना संक्रमणबाट एकै दिन १४ जनाले ज्यान गुमाए
धनगढी, २० बैशाख । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार २ सय १३ जनाको परीक्षण गर्दा ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एन्टिजेन विधिबाट ६४० जनाको परीक्षण गर्दा १४२ जना र पीसीआर विधिबाट ५७३ जनाको परीक्षण गर्दा २०१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा सुदूरपश्चिमका थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १२६ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ३२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।














