स्थानीय सरकारद्वारा अक्सिजन सहितको आईशोलेसन सञ्चालन
कैलाली, २० वैशाख । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका विरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएपछि कैलालीका विभिन्न स्थानीय तहले अ–आफ्नै पालिकामा अक्सिजन सहितको आईशोलेसन निर्माण गरिरहेका छन् ।
लम्कीचुहा नगरपालिकाले कोभिड १९ ब्यवस्थापनका लागि राधास्वामि सत्संग ब्यास नेपाल बलिया केंन्द्रमा आज (आइतबार) देखि ५० सैयाको अक्सिजन सहितको आइशोलेसन वार्ड सञ्चालनमा ल्याएको हो ।
कोरोनाको नया भेरियन्ट सहितको संक्रमण तिब्रगतिले बढेसंगै संक्रमित हुने र मृत्युहुनेको संख्या दिनानुदिन बढ्दैगएकोले नगरपालिका भित्रको नागरिकले अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले आइशोलेसनको व्यवस्थापन गरेको नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले बताए ।
उनका अनुसार जटिल अवस्थाका विरामीलाई रेफर गर्नु परे नगरपालिकाले २ वटा एम्बुलेशन २४ औं घण्टा तयारी अवस्थामा राखेको छ । साथै लम्कीचुहा नगरपालिका ५० शय्याको पुर्ण जनशक्ति सहितको आइसुलेसन वार्ड स्थापना गरेको हो ।
नगरपालिकाले ५० वटा अक्सिजन सिलिण्डरको खरिद प्रक्रिया अगाढी बढाएपनि हाल २० वटा सिलिण्डर आईपुगेको आइशोलेसन व्यवस्थापक तप्त भण्डारीले जानकारी दिए । अहिले विरामीहरु अक्सिजन नै नपाएर ज्यान गुमाउनु परेको अवस्थामा नगरपालिकाले यस्तो व्यवस्थापन गरहेको हो । आइशोलेसनमा १ जना कोभिडको विरामी उपचारमा छन् ।

सामान्य लक्षण भएका विरामीहरुलाई नगरपालिकको आइशोलेसनमा राख्न सके सेती प्रादेशिक अस्पतालको बेडपनि खाली हुन्छ र जटिल अवस्थाका विरामीहरु सहज तरिकाले उपचार पाउन सक्ने भण्डारीले बताए । लम्की चुहा नगरपालिकामा आजदेखि कोभिड चेकजाँच शुरु गरिएको छ । कार्यपालिको निर्णय अनुसार हरेक हप्ताको दूई दिन स्वाब संकलन हुनेछ ।
त्यसै गरि गौरीगंगा नगरपालिकाले चौमला स्वाथ्य चौकीमा ५० शैय्याको अक्सिजन सहितको आइशोलेसन आजदेखि अञ्चालनमा ल्यााएको छ । नगरपालिकाले गत वर्षपनि सोही ठाउँमा आइशोलेसन स्थापना गरेको थियो । ४ वडा अक्सिजन सिलिण्डर सहित आइशोलेसनलाई व्यवस्थित गर्न वैशाख १५ गतेको विपद् व्यवस्थापन समितिको बैठकले २० वटा सिलिण्डर खरिद गर्ने निर्णय गरेको नगरपालिकाको उपप्रमुख अञ्चला चौधरीले जानकारी दिईन् । उनका अनुसार सिलिण्डर खरिद प्रक्रिया अगाडी बढाईसकेकोले सोमबार सम्म आईपुग्ने बताईन् ।
आईशोलेसनमा एक जना एमविविएस डाक्टर, ३ वटा स्टाफ नर्स र अहेवाहरु २४ औ घण्टा सेवा दिने तयारीमा छन् । ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको उपप्रमुख चौधरीले बताइएन् । उक्त आइशोलेशनमा ३ जना कोभिडका विरामी उपचारमा छन् । नगरपालिकाले हप्ताको दूई दिन आइतबार र बुधबार कोभिड पिसिआर चाँज गर्ने निर्णय गरेको छ ।
यस्तै घोडाघोडी नगरपालिकाको दरख स्वाथ्य चौकीमा १० शैय्याको अक्सिजन सहितको आइशोलेसन सञ्चालन गर्ने निर्णय भएको नगरप्रमुख ममता प्रसाद चौधरीले बताए । उनका अनुसार आइशोलेसन सञ्चालनमा ल्याउनलाई सरसफाई भईरहेको र डाक्टरसंग समन्वय गरिरहेको मेयेर चौधरीले बताए । सम्भवत सोमबारदेखि सो आइशोलेसन सञ्चालनमा आउने छ ।
उनका अनुसार ३० वटा अक्सिजन सिलिण्डरको खरिद प्रक्रिया अगाडी बढाईसकेकोले भोली सम्म पुग्ने जानकारी दिए । साथै ३ वटा एम्बुलेशन तयारी अवस्थामा छ । सो नगरपालिकामा २९ जना कोभिड संक्रमणका विरामीहरु छन् जसमध्ये ८ जना नगरपालिकाका कर्मचारीहरु हुन् । हाल उनीहरु होम आइशोलेशनमा बस्दै आईरहेका छन । नगरपालिकाले हप्ताको दूई दिन आइतबार र बुधबार कोभिड पिसिआर गर्ने निर्णय गरेको छ ।
यस्तै कैलारी गाउँपालिकाले वैसपुर स्कुलमा ५ शैय्याको आशोलेसन सञ्चालन गरेको छ । विपद् व्यवस्थापन समितिले बैशाख १५ गते बसेको बैठकले प्रत्येक वडामा एक एक वटा क्वारेन्टिन र पालिका स्तरमा एउटा आइशोलेसन स्थापना गर्ने साथै ५ वटा अक्सिजन सिलिण्डर खरिद गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका इन्चार्ज वीरेन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार पालिका भित्रका विरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन सहज बनाउनकोलागि ३ वटा एम्बुलेन्सको प्रयोग गर्दै आईरहेको छ । हाल उक्त गाउँपालिकामा २५ जना कोरोना संक्रमित विरामीहरु छन् । जस मध्ये ३ जना पालिकाको आइशोलेसन, ५ जना धनगढी अस्पताल र बाँकी होम आइशोलेसनमा बस्दै आईरहेका छन् ।

पालिकाले हप्ताको दूई दिन आइतबार र बुधबार स्वाब संकलन गर्दै आईरहेको छ । तर हिजोदेखि किट अभावका कारण स्वाब संकलन रोकिएको इन्चार्ज सापकोटाले जानकारी दिए ।
यस्तै जिल्लाको टीकापुरमा अक्सिजन जडान सहित २० शैयाको आइसोलेशन वार्ड तयार गरिएको छ । कोरोनाले भयाभव रुप लिन थालेपछि टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेशन वार्ड तयार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राइले जानकारी दिए ।
संक्रमण स्थित भन्दा बाहिर गएपछि कोरोना संक्रमितहरुको उपचारका लागि अस्पतालको क्षमता अनुसारको तयारी पूरा भएको बताए । उनले अक्सिजन सहितको आइसोलेशन वार्ड तयार भएपनि यसको संचालका लागि जनशक्तिको भने अभाव रहेको बताए ।
अस्पतालमा ७ वटा भेन्टिलेटर भएपनि जनशक्तिको अभावका कारण संचालनमा ल्याउन कठिनाइ भएको अस्पताल बिकास समितिका अध्यक्ष दिपक रावलले बताए । उनका अनुसार उपकरण हुदाँ पनि जनशक्ति नभएकाले जटिल खालका बिरामिलाई अन्यन्त्रै रिफर गर्नुपर्ने बाध्याता छ ।













