सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट बिहानै थप ४ जनाको मृत्यु

धनगढी, २० वैशाख । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा आज (सोमबार) विहान मात्रै कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । ३८ वर्षीय पुरुषको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए।

कोरोना पुष्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको भइरहेको थियो ।

यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको पनि सेतीप्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको जोशीले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

सुदूरपश्चिममा आइतबार मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । प्रदेशमा पछिल्लो ९ दिनमा मात्र कोरोना संक्रमणबाट ५१ जनाकाृ मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरस संक्रमणबाट हालसम्म ११२ जनाले ज्यान गुमाईसकेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।