सेती प्रादेशिक अस्पतालमा ५७ जना जटिल विरामी, अक्सिजनको हाहाकार
कैलाली १८ वैशाख । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना संक्रमित जटिल अवस्थाका विरामीले भरिएको छ ।
गत वर्ष सेती प्रादेशिक अस्पताल मातहत रहने गरी स्थापना गरिएको ५५ शययाको कोभिड अस्थायी अस्पतालमा विरामीको चाप बढ्न थालेपछि ५ शयया थप गरि विहीबारदेखि ६० शयया बनाइएको छ । तर संक्रमित विरामीको संख्या दिनप्रतिदिन थपिदै गएकोले अस्पतालमा बेड पाउन मुस्किल छ ।
कोभिड अस्थायी अस्पतालमा अहिले एकदमै जटिल खाले विरामीलाई मात्रै राखिने गरिएको अस्पतालले जनाएको छ । अहिले ५७ जना जटिल अवस्थाका विरामी उपचाररत छन् । जसमध्ये १२ जना आईसीयू, तीन जना भेन्टिलेटर, ३५ जना अक्सिजन सपोर्ट र ७ जनालाई अवस्थाअनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
संक्रमण पुष्टि भएका तर समान्य लक्षण देखिएका र सम्भावित संक्रमितलाई अस्पतालको इमर्जेन्सी वार्डमै राखेर उपचार भईरहेको छ । इमर्जेन्सी वार्डमा रहेका १६ शय्या पनि भरिएपछि बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसिरहेको अस्पतालले जनाएको छ ।

‘श्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको छ ।’ सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेकोले अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको छ । जटिल खाले विरामीलाई अक्सिजन चाहिने भएकोले बाहिरबाट मगाएरपनि हाल सम्म अक्सिजनको अभाव हुन नदिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अक्सिजन एकदमै टाईट अवस्थामा छ । सेती प्रादेशिक अस्पतालमा दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन क्षमता भएको उत्पादन यूनिट जडान गरिएको छ। त्यो यूनिटमा अहिले दैनिक ५० सिलिण्डर अक्सिजन मात्रै उत्पादन भइरहको छ। तर अस्पतालमा भने अहिले नै दैनिक १ सय ४० सिलिण्डर खपत भइरहेको छ।
अस्पतालले अक्सिजनको मात्रा अपुर्ती गर्न ५० वटा नयाँ सिलिण्डर खरिद प्रक्रिया अगाडी बढाएको श्रेष्ठले जानकारी दिए । ‘सेतीमा खपत हुने अक्सिजनको ठूलो परिमाण बाहिरबाट ल्याउनुपर्ने अवस्था छ ।’
कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको हो । तर हामीले मागका आधारमा उत्पादन गर्न नसके पनि जसोतसो व्यवस्थापन गरिरहेका छौं, श्रेष्ठले भने ।

निजी अस्पतालले पनि कोरोना वार्ड सञ्चालन गर्ने
कैलालीका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि कोरोना वार्ड सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको सहकार्यमा निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि वार्ड सञ्चालन गर्न लागेको निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) का अध्यक्ष जनकराज जोशीले बताए ।
उनका अनुसार प्रत्येक निजी अस्पतालहरुले ५ देखि १० बेडसम्मको वार्ड सञ्चालनको लागि सहमति भएको हो । १५ देखि २५ शयया भएको अस्पतालले कोरोना वार्डकोलागि ५ बेड ५० शयया भएको अस्पतालले १० बेडको वार्ड स१चालन गर्ने भएका छन् ।
अध्यक्ष जोशीका अनुसार अत्तरियाको पद्यमा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०/१० बेड उपलब्ध गराउने र कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले ५/५ बेड उपलब्ध गराउने निर्णय भएको छ । ती अस्पतालले शनिबारदेखि सेवा सुरु गर्ने अध्यक्ष जोशीले बताए ।
निजी अस्पतालमा हुने उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सरकारी अस्पतालमा हुँदै आएको सेवा सुविधा निजी अस्पतालबाट दिइने र सरकारले नै खर्च व्यहोर्ने जानकारी दिए।
उनका अनुसार सामान्य प्रकृतिको विरामीलाई प्रति दिन प्रति विरामीको उपचार खर्च ३५ सय रुपैँया, अक्सिजन दिनु परे ७ हजार रुपैया, आइसियूमा राख्नु परे १० हजार रुपैया र भेन्टिलेटरमा राख्नु परे १० हजार रुपैया सरकारले उपलब्ध गराउँछ।
गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी
धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएपछि नयाँ थपिने बिरामीलाई व्यवस्थापन गर्न समस्या भएपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने सरकारको तयारी भईरहेको छ ।
प्रदेश सरकारले कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन कक्ष बनाउने तयारीमा जुटेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । मेडिकल कलेजलाई आइसोलेसन कक्ष बनाउन शनिबारदेखि पूर्वाधार निर्माणको काम शुरु हुने भएको छ । कार्कीले धनगढी उपमहानगरपालिकाले सरसफाइ, खानेपानी डिभिजन कार्यालयले खानेपानी र विद्युत् कार्यालयले विद्युत्को व्यवस्थापन गर्ने सम्झौता अनुरुप काम थालिने बताए ।
आइसोलेसनको समग्र व्यवस्थापन गर्ने जिम्मा भने प्रादेशिक आयुर्वेद औषधालयलाई दिइएको छ ।













