सुदूरपश्चिममा बिहीबर मात्रै ११ जना संक्रमितको मृत्यु
कैलाली, १६ वैशाख । सुदूरपश्चिम प्रदेशमा विहीबार मात्रै ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यू हुनेमा कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । कोभिड परिक्षण गर्दा १५ गते संक्रमण पुष्टि भएको रिर्पोट आएको थियो । होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
यस्तै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। संक्रमण पुष्टि भएको १२ घण्टामै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवक कोरोना संक्रमित भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको पनि आज नै मृत्यु भएको छ। सूचना अधिकारी जोशीले आजै धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको पनि कोभिड संक्रमणबाट मृत्यु भएको बताए। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
उता महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो। यस्तै ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखा परेको थियो। उनी भारतबाट आएका थिए।
भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको पनि आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।
यस्तै अछामका जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुंगानाको आजै मृत्यु भएको हो। ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो।
कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए।
उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको जोशीले बताए।













