पत्रकार महासंघ डडेल्धुराको भवनमा वन कार्यालयले लगायो डोजर

कैलाली, १६ वैशाख । नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालयले डोजर प्रयोग गरेर क्षति पु¥याएको छ।

बिहीबार जानकारी तथा सूचना विना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल समेत प्रयोग गरेर भवनमा क्षति पु¥याएको घटनाप्रति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले गम्भीर आपत्ति जनाएको छ।

प्रेस स्वतन्त्रताको रक्षा गर्दै नागरिकको सुसुचित हुन पाउँने अधिकार सुरक्षका लागि अहोरात्र खटिने पत्रकारहरुको साझा संस्था महासंघ महासंघको भवन भत्काउने जस्तो निदनिय कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसंगै अक्षम्य अपराध रहेको महासंघ सुदूरपश्चिम प्रदेशको ठहर रहेको अध्यक्ष योगेश रावलद्धारा हस्ताक्षर प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसै गरि सुदूरपश्चिम प्रदेश स्तरीय सूचना केन्द्र समेत रहेको उक्त भवनलाई भत्काउँने प्रयासपछि डडेल्धुरा महासंघका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।

‘महासंघले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीन तले पक्की भवन निर्माण गरेको र सो जग्गाको भोगाधिकारसमेत महासंघसँग रहेको अबस्थामा प्रचलित कानून विपरित महासंघको भवन भत्काउँने कार्य प्रेस स्वतन्त्रता विरोधी कृयाकलापसँगै अक्षम्य अपराध भएको महासंघले ठहर गरेको छ। सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग सम्वादका लागि पहल गर्दासमेत सम्बन्धित निकायहरुले वेवास्ता गरिरहेका छन ।’ विज्ञप्तिमा भनिएको छ।

महासंघले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुबाट लेवी तोकेर निर्माण गरेको सो भवनमा पुगाइएको अपुरणीय क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारवाही नगरिएमा आन्दोलनमा उत्रिने महासंघ जनाएको छ।

उक्त घटनाबारे बुझ्न खोज्दा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अन्जानमा गल्ती भएको भन्दै गैरजिम्मेवार जवाफ दिएको महासंघका अध्यक्ष सिंहले बताएका छन्।