देशभरमा कोरोना संक्रमणबाट एकै दिन ३५ जनाको मृत्यु

काठमाडौं, १६ वैशाख । कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ जना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ।

त्यस्तै, आज कोरोना परीक्षण घट्दा पनि संक्रमितको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५६० जनाको स्वाब परीक्षण गर्दा चार हजार ९२८ जनामा कोरोना देखिएको हो। गत बुधबार पनि परीक्षण घटेको थियो भने संक्रमित बढेका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५९७ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ८३१ र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा ९७ जनाका पोजिटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा ८८८ जना मात्रै निको भएका छन्। निको हुने क्रम बढ्न नसक्दा संक्रमित थपिँदै जादा सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ। आज सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।