कैलाली र कञ्चपुरमा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?
कैलाली, १६ वैशाख । सुदूरपश्चिम प्रदेशको सबै भन्दा बढि जोखिम जिल्ला कैलाली र कञ्चनपुरमा (आज) देखि एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ।
जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलाली र कञ्चनपुरले एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो। निषेधाज्ञा बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजे सम्म लागु हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जनाएको छ ।
यस्तै कोरोनाको संक्रमण समुदाय स्तरमै फैलिएपछि कञ्चनपुरमा पनि एक साता निषेधाज्ञा गरिएको जनाएको छ। नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापनको बैठकले वैशाख २२ सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा मंगलवार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्नमा रोक लगाएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुधजन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।
खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ ।
यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
निषेधाज्ञाको अवधिमापनि बैंकिङ सेवा सुचारु
कैलाली र कञ्चनपुरमा निषेधाज्ञाको अवधिमा पनि तीन घण्टा बैंकिङ सेवा सुचारु हुने भएको छ । नेपाल बैंकर्स संघ सुदूरपश्चिम इकाइले बिहान १० बजेदेखि दिउसो १ बजेसम्म बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
इकाईका अध्यक्ष बिरुराम जैशीले बुधबार बसेको इकाईको बैठकले उक्त निर्णय गरेको जानकारी दिए। कैलाली कञ्चनपुरका प्रशासनले कोरोनाको महामारीलाई मध्यनजर गर्दै आजबाट बैशाख २२ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।
सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिने निर्णय गरिएको छ । बुधवार अस्पतालले एक सूचना जारी गर्दै बिहिवारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बिहीबारदेखि आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले पनि इर्मजेन्सीबाहेकका ओपिडी र इलेक्टिभ सर्जरी हाललाई बन्द गर्न परिपत्र गरेकोले बिहीवारदेखि सेवा बन्द हुने जनाएको छ।













