बागमती प्रदेश सरकारमा सरस्वती बस्नेत पहिलो महिला मन्त्री
काठमाडौं, १५ वैशाख । बागमती प्रदेश सरकारमा पहिलो पटक महिला मन्त्री नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रीको रुपमा सरस्वती बस्नेतले आज सपथ लिएका हुन् । बस्नेत यो प्रदेशको पहिलो पटक महिला मन्त्री बनिन् ।
२०७४ सालमा प्रदेश मन्त्रिपरिषद गठन भए पनि एकजना पनि महिला मन्त्री थिएनन् । दोलखाबाट प्रदेश सांसद भएका बस्नेत झण्डै चार दशकदेखि राजनीतिमा क्रियाशील छन् ।
सामाजिक विकास मन्त्री बस्नेतको संक्षिप्त राजनीतिक यात्रा
मन्त्री सरस्वती बस्नेतको जन्म २०१९ सालमा दोलखा जिल्ला (हालको गौरीशंकर गाउँपालिका) मा भएको हो । विद्यार्थी छँदादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षण पेशा, सामाजिक काम र राजनीतिलाई सँगसँगै अघि बढाए । उनको संक्षिप्त राजनीतिक यात्रा यस्तो छ ।
१. २०३२ सालमा हलेश्वर निमाविमा ६ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आवद्ध, त्यसपछि शान्ति आदर्श मावि लादुकमा पहिलो एसएलसी ब्याचको विद्यार्थी हुँदै विद्यार्थी राजनीतिमा सक्रिय ।
२. अनेरास्ववियुको पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित । २०३७ सालमा शिक्षण पेशामा आवद्ध र शिक्षक संगठनको राजनीति शुरु ।
३. शिक्षक संगठनसँग अनेमसंघको गाउँ कमिटी, गाउँ पार्टी कमिटीसंगै राजनीति ।
४. २०३७ सालदेखि अनेमसंघ जिल्ला कमिटीमा आबद्ध हुँदै सचिव र ३ कार्यकाल अध्यक्षपछि अनेमसंघको केन्द्रीय सदस्य ।
५. हाल केन्द्रीय सचिवालय सदस्य र बागमती प्रदेश अनेमसंघको सचिवको जिम्मेवारी ।
६. गाउँ पार्टी कमिटी, जिल्ला कमिटी राष्टिय प्रतिनिधि परिषद सदस्य, अंचल कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य एवं राष्टिय प्रतिनिधि परिषद सदस्य ।
७. २०७४ सालमा दोलखा जिल्लाबाट बागमती प्रदेश सभा सदस्य ।
८. २०३७ देखि करिब ३० वर्ष शिक्षण पेशामा आवद्ध भई सेवा निवृत्त भई पार्टी राजनीतिमा क्रियाशील ।













