सुदूरपश्चिम नाका भएर नेपाल भित्रिएका मध्ये १३ सय संक्रमित

कैलाली, १४ वैशाख । सुदूरपश्चिमका दुई नाका भएर भारतबाट फर्किएका मध्ये एक हजार तीन सय ८९ जना कोरोनाभाइरस संक्रमित भित्रिएका छन्।

भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा एक हजार तीन सय ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, गत १६ चैतदेखि १३ वैशाखसम्म गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

त्रिनगर नाकामा १३ हजार एक सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ११९ जनामा संक्रमण देखिएको छ। त्यस्तै, गड्डाचौकी नाकामा चार हजार २०० जनाको एन्टिजेन परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो।

देशका अन्य नाकाभन्दा सुदूरपश्चिमका दुई नाकामा भित्रिएकाहरूमा संक्रमण बढी देखिएको हो। यो एक महीनाको अवधिमा देशका प्रमुख १० नाकामा १९ हजार ४५० जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ५८५ जनामा कोरोना देखिएको थियो। जसमध्ये एक हजार ३८९ जना सुदूरपश्चिमकै दुई नाकामा भेटिएका हुन्।

सोमबार देशका १० नाकामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना भेटिएको छ। जसमध्ये सुदूरपश्चिमका दुई नाकामा मात्रै १०३ जना रहेका छन्। अन्य आठ नाकामा ११ जनामा मात्रै संक्रमण देखिएको छ।

सोमबार मात्रै गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए। उनका अनुसार, गौरीफन्टा नाका भएर सोमबार ७ सय जना भित्रिएका हुन् । उनीहरूमध्ये ६ सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेश खुला सीमानाका भएको कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि सिंगो प्रदेशमै भयावह अवस्था हुने सम्भावना देखिन थालेको नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा। प्रदीप मिश्रले बताए।

छिमेकी मुलुक भारतबाट दैनिक हजारौँको संख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन्। सीमा क्षेत्रमा होल्डिङ सेन्टरको व्यवस्थापन नहुँदा आधाभन्दा बढी परीक्षणबिना नै गाउँ फर्किरहेका छन ।