वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द, आइसोलेसन र क्वारेन्टिन व्यवस्थित गर्न स्थानीय तहलाई आग्रह

धनगढी, १४ वैशाख । दोस्रो लहरको कोरोना सङ्क्रमण दर बढ्दै गईरहेको कैलाली र कञ्चनपुरमा वैशाख ३१ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थान सञ्चालन नहुने निर्णय गरिएको छ । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सोमबार बसेको सरोकारवालाको संयुक्त बैठकले संक्रमणलाई मध्यनजर गरेर शैक्षिक संस्था, ट्युसन सेन्टर, तालिम केन्द्र सबै मङ्गलबार देखि लागू हुने गरी ३१ गतेसम्म बन्द रहने निर्णय गरेको हो ।

यसैगरी, दुवै जिल्लामा सोमबार देखि राति हिडडुल गर्नमा बन्देज गरिएको छ । बैठकले राति ८ बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक राति हिडडुल गर्नमा बन्देज गरेको हो । यसैगरी, अन्य समयमा पनि नागरिकलाई अनावश्यक रुपमा हिडडुल नगर्न आग्रह गरिएको छ ।

बैठकले दुवै जिल्लामा रहेका सबै स्थानीय तहले यसअघि सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गरेर सञ्चालनका लागि स्थानीय तहलाई अनुरोध गरेको गरेको छ । गौरीफन्टा नाका भएर फर्किने नेपालीको स्वास्थ्य कार्यालय कैलाली र गड्डा चौकी नाका भएर फर्किएका नेपालीको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले ज्वरो मापन, कोरोना परीक्षण गर्नु पर्ने निर्णय गरिएको छ ।

नेपाल प्रवेश गरेकालाई जिल्लागत रुपमा छुट्टयाएर सम्बन्धित जिल्लाको स्थानीय तहमा पठाइने जनाइएको छ । यसैगरी, सीमावर्ती क्षेत्रमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले नाकामा निगरानी गर्नुका साथै किनमेलका लागि आवतजावत गर्न नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस्तै, बैठकले होल्डिङ सेन्टरका लागि गौरीफन्टा नाका नजिक पर्ने उपयुत्तm स्थान उपलब्ध गराउन धनगढी उपमहानगरपालिकालाई अनुरोध गर्नेछन् ।

सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायतमा स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरेर सेवा प्रवाह गर्ने, गराउने बैठकले निर्णय गरेको छ । होटल रेस्टुरेन्टहरु राति ८ देखि विहान ८ बजेसम्म बन्द गर्ने बैठकमा निर्णय भएको छ ।

उद्योग, कलकारखाना सञ्चालन गर्ने र निजी तथा सार्वजनिक निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर काममा लगाउने व्यवस्था गर्नु पर्ने निर्णय गरिएको छ । सम्बन्धित उद्योग, कलकारखानाले आफ्नो क्षेत्रभित्र आवश्यक पर्ने क्वारेन्टिन, आइसोलेसन पूर्वाधारको प्रबन्धसमेत गर्न लगाउने बैठकले निर्णय गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरु आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर नेपाल राष्ट्र बैङ्कको निर्देशन बमोजिम सञ्चालन गर्नु पर्ने निर्णय गरिएको छ ।