‘व्यवसायीलाई प्रोत्साहन गर्ने जिम्मेवारी पालिकाको हो’

हसुलिया, १० वैशाख । कैलारी गाउँपालिकामा रहेको कैलारी उद्योग वाणिज्य संघको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभाको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले उद्घाटन गरे । सो अवसरमा उनले उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको र सो काम गर्दै आएको बताए ।

उनले गाउँपालिका अन्र्तगत व्यापार व्यवसाय सञ्चालन गरिरहेका सम्पूर्ण उद्योगी व्यवसायीको प्रोत्साहनका लागि विभिन्न अनुदान पनि प्रदान गरिरहेको बताए । ‘व्यापार व्यवसाय गर्ने दौरानमा व्यापारीलाई विभिन्न किसिमका समस्या तथा जटिलता र हक अधिकारका कुरा आउने गर्दछ’, अध्यक्ष चौधरीले भने–‘उद्योगी व्यवसायीको हक अधिकार लगायत व्यापारका लागि प्रोत्साहन गर्ने जिम्मेवारी स्थानीय तहको हो ।’

अध्यक्ष चौधरीले यहाँका उद्योगी व्यवसायीलाई उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा फर्म दर्ता गरि सम्पूर्ण व्यवसायीलाई करको दायरामा आउन आग्रह गरे । साथै, उनले उपभोक्ताको खाद्य सुरक्षाको अधिकारलाई ध्यान दिनु पर्नेमा पनि सम्पूर्ण व्यवसायीलाई आग्रह गरे । व्यावसायीले उपभोग्य मिति सकिएको सरसमान तथा माछा मासु अव्यवस्थित तरिकाले बिक्रि वितरण गर्ने गरेकाले अध्यक्ष चौधरीले उपभोक्ताको स्वास्थ्यमाथि ध्यान दिन आग्रह गरे ।

‘उपभोक्ताहरुको स्वास्थ्य व्यापारीको हातमा हुने गर्दछ, त्यसका लागि व्यापारीले सरसफाईमा ध्यान दिन अति आवश्यक रहेको छ’, अध्यक्ष चौधरीले भने–‘त्यसैले सम्पूर्ण व्यापारीलाई मेरो के अनुरोध छ भने, उपभोक्ताहरुको स्वास्थ्यमाथि कहिल्यै खेलवाड नगरी दिनु होला ।’

गाउँपालिका अन्तर्गत छरिएर रहेका सम्पूर्ण व्यवसायीलाई संघमा आवद्ध गराउन सफल भएकोमा कैलारी उद्योग वाणिज्य संघलाई उनले धन्यवाद पनि दिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारूले गाउँपालिका भित्र सञ्चालन रहेका अधिकांश व्यापार व्यावसाय बिना दर्ता सञ्चालन रहेको बताइन् । उनले व्यवस्थित र अनिवार्य रुपमा दर्ता गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् । साथै उनले आफू कहाँ करको बढाएको जनगुनासो आएको बताइन् ।

‘व्यापारीबाट म कहाँ कर बढाएको गुनासो आएको छ’, उपाध्यक्ष थारूले भनिन्–‘हामीले आफ्नो स्थानीय तहमा कर नबढाएर करको दायरा र यहाँका व्यवसायीको अवस्था हेरेर कर निर्धारण गरेका छौ ।’

वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश कुश्मीले वैधानिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्नु पर्ने जोड दिए । त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरीले यहाँका व्यापार व्यवसाय बढाउनका लागि यातायातको पहुँच हुनु पर्नेमा जोड दिए ।

कैलारी उद्योग वाणिज्य संघका सल्लाहकार संयोजक बतासु चौधरीले यहाँका उद्योग व्यवसाय प्रर्वद्धन गर्न सबैको दायित्व रहेको बताएका थिए ।

कार्यक्रममा समाजसेवी वुद्धिजिवी राजसमझ चौधरीले कैलारी गाउँपालिकालाई समृद्ध बनाउनका लागि व्यापारीहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बसन्त चौधरी, नेपाली कांग्रेसका रमेश चौधरी, एमालेका दया शंकर चौधरी, गदरिया बजार व्यवस्थापन समितिका सचिव जंगबहादुर चौधरी लगायत शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रममा संघका महासचिव शंकरप्रसाद चौधरीले संघको अवधारणा, लक्ष्य तथा उद्देश्य बारे जानकारी गरेका थिए । त्यस्तै कोषाध्यक्ष विशेष कुमार चौधरीले संघको आव २०७७/०७८ को १ लाख २३ हजार रुपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष नेपालु चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मनतब्य संघकी उपाध्यक्ष तकर्ना चौधरी राखेकी थिइन् भने सञ्चालन सुनिता चौधरीले गरेकी थिइन् । यसै बिच नव निर्वाचित संघका सम्पूर्ण पदाधिकारीहरुलाई गाउँपालिका अध्यक्ष चौधरीले सपथ ग्रहण गराएका थिए । साथै कार्यक्रममा पदाधिकारीलाई प्रमाण पत्र, अतिथिलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

यसैबीच, कैलारी उद्योग वाणिज्य संघको कार्यालय पनि उद्घाटन गरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले रिबन काटेर कार्यालय उद्घाटन गरेका थिए । २०७७ माघ २६ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा विधिवत दर्ता भएको संघमा हसुलिया, पवेरा, कैलारी, मोहनी बजार लगायत गदरिया बजारका एक सयभन्दा बढी व्यवसायीहरु आवद्ध रहेका छन् ।