हौसलपुरवासी ‘संयौ थुङ्गा’ सिक्न थाले
धनगढी, ९ वैशाख । सीमावर्ती गाउँ हौसलपुरकी १६ वर्षीया विमला चौधरी भारतको विद्यालयमा पढ्छिन । विद्यालय जान थालेदेखि ‘जन गन मन’ गुनगुनाउँदै आएकी विमला हाल ‘संयौं थुङ्गा फूलका हामी’ पनि सिक्न थालेकी छन् । बेलापरसुवास्थित सरस्वती शिशु विद्या मन्दिर कक्षा १० मा अध्ययनरत उनलाई हिन्दी भाषाको राम्रो ज्ञान छ । तर, नेपाली भाषा भने बुझ्न र बोल्न गार्हो छ ।
अक्षर चिन्न थालेदेखि नै भारतीय राष्ट्रिय गान गाउनमा अभ्यस्त उनले नेपाली राष्ट्रिय गीत गाउनु त के, सुनेकी पनि थिएनन् । ‘मलाई नेपाली भाषाको पटक्कै ज्ञान थिएन’, उनले भनिन् । ‘पहिलो पटक नेपाली भाषा सिक्न थालेकी छु । राम्रो लाग्दैछ ।’
कैलारी गाउँपालिका वडा नं. ७ ले हौसलपुर गाउँवासीलाई नेपाली भाषा बोल्न कक्षा सञ्चालन गरेको । जुन कारण उनी आफ्नो मुलुकको राष्ट्रिय गीत गाउन पनि सक्दैछिन् ।
१५ वर्षीया गीता चौधरी पनि सरस्वती शिशु विद्या मन्दिरमै कक्षा १० मा अध्ययनरत छिन् । हिन्दी भाषामा पोख्त उनीपनि पहिलो पटक नेपाली भाषा सिक्दै छिन् । ‘पहिलो पटक प्रयास गर्न थालेकाले उनलाई निकै गाह्रो लागेको छ’, गीताले भनिन् । ‘अरुले बोलेको बुझ्न थालिसके छिन् तर, आफूलाई भने बोल्न आउँदैन ।’
विमला र गीतामात्रै हैन, अहिले कैलारी गाउँपालिका–७ हौसलपुरका विद्यार्थी, युवायुवतीदेखि लिएर अर्धवैसेसमेतले नेपाली भाषा सिकिरहेका छन् । आफ्नै मुलुक र नेपालीपनबाट केही टाढा तर, भारतीयपनसंग नजिक उनीहरुलाई नेपाली भएको महसुस गराउन र सेवा सुविधामा सहजताका लागि कैलारी गाउँपालिकाको कार्यालयले नेपाली भाषाको प्रशिक्षण दिन थालेको एक महिना भईसक्यो ।
उनीहरुलाई कुनै एउटा विषयमा एकचोटी थारु भाषामा र अर्को चोटी नेपाली भाषामा लेखेर बुझाउने गरिएको छ । यसैगरी, हरेक दिन कक्षा सञ्चालन हुनु अगाडि नेपाली राष्ट्रियगान सामूहिक रुपमा गाउन लगाउने गरिएको छ ।
नेपाली भाषा सिक्न आएकाहरुलाई उनीहरुकै स्थानीय परिवेशको कुरा र सरकारी कार्यालयमा बोलिने कुरा सिकाउने गरेको प्रशिक्षक परशुराम खनालले बताए । ‘कुनै पनि कुरा एक पटक थारु भाषामा र सोही कुरालाई अर्को पटक नेपाली भाषामा सिकाइरहेको छुँ’, उनले भने ।
लगभग एक महिनापछि प्रशिक्षार्थीहरुले केही कुरा बुझ्न थालेको र अलि–अलि नेपाली बोल्न पनि थालेको खनालको भनाइ छ । ‘करिब १५ दिनसम्म त उहाँहरुलाई हामी नेपाली हौं भनेर महसुस गराउन नै मलाई हम्मे पर्यो’, खनाल भन्छन् । ‘अहिले उहाँहरु मैले सिकाएका कुरा अलि–अलि बुझ्न र बोल्न थाल्नु भएको छ ।’













