बाघ आतंकले महुवा बटुल्नेको संख्या घट्यो
कैलाली, ८ वैशाख । तराईको जंगलमा यो मौसममा महुवा बटुल्ने गर्दछन् तर यो वर्ष बाघको आतंकले गाउँको मान्छे महुवा बटुल्ने कार्य कम गरेका छन् । स्थानीय थारु समुदायमा स्वादिलो रक्सी बनाउनका लागि महुवा प्रयोग गर्दछन् ।
गत वर्ष उनीहरु यो समयमा महुवा बटुल्नका लागि विहानैदेखि जंगल पुग्ने गर्दथे । महुवा संकलनको सिजन सुरु भएसंगै जंगलमा महुवा बटुल्नेहरुको चहलपहल सुरु हुने भुईयाँफाँटाका हरिराम चौधरीले बताउँछन् । उनले भने–‘महुवा बटुल्न मान्छेहरु विहानै जंगल पुग्थे तर यो वर्ष अरु वर्षको जस्तो महुवा पनि छैन, बाध आतंकको कारण जंगल जानेको संख्यापनि घटेको छ ।’
कैलालीको बसन्ता करीडोरमा प्रशस्त मात्रामा महुवा पाइन्छ । स्थानीयले महुवा संकलन गरेर पछि मदिरा बनाउने गर्दछन् । महुवा जंगलमा पाईने एक प्रकारको सुगन्धित फुल हो । यो औषघीमूलक हुन्छ । महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमामात्रै सीमित छ ।
कैलारी–७ का स्थानीय दशीराम चौधरीले गाउँघरमा यसको प्रयोग केवल रक्सी बनाउनमामात्रै प्रयोग हुने गरेको बताए । महुवाको रक्सी स्वादिलो हुने भएकोले धेरैले मन पराउने गरेको चौधरीले सुनाए ।
पछिल्लो समय थारु समुदायले विभिन्न ठाउँमा होमस्टे सञ्चालन गरेका छन् । होमस्टेमा आउने पाहुनाहरुले महुवाको रक्सी रुचाउने गरेकाले स्थानीयले संलन गरेका महुवा होमस्टे सञ्चालकले पनि खरिद गर्ने गरेको पाइन्छ । यसैगरी, विभिन्न चाडपर्वका बेला घरमा आएका पाहुनालाई खुवाउनका लागि घरमै रक्सी बनाइने गरेको स्थानीयहरुको भनाई छ ।
महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका वृक्षको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई संलन गरी सुकाउने र रक्सी बनाउने गरिन्छ ।
महुवा शक्तिवद्र्धक जडिबुटी रहे पनि यसको वैज्ञानिक खोज तथा अनुसन्धान हुन नसक्दा यो त्यत्तिकै खेर गइरहेको कतिपयको बुझाइ पनि छ ।













