मास्क नलगाई बाहिर हिँड्नेलाई कारबाही हुने

धनगढी,८ वैशाख । जिल्ला प्रशासन कार्यालय कैलालीलाले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने जनाएको छ । छिमेकी मुलुक भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर कैलालीमा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले बुधवार देखि जरिवाना गर्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालले बताए ।

विना मास्क बजारमा भेटिएकाहरूलाई एकपटकका लागि सम्झाइबुझाई मास्क लगाउन भन्छौं तर, ‘यदि फेरि पनि त्यसको अटेरी गरे हामी कारबाही गर्छौ’ । बजारमा हिडडुल गर्ने सचेत नागरिकले नै मास्क नलगाउने गरेको उनको भनाई छ ।

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार बुधवार बिहानैदेखि प्रहरीले धनगढीका मुख्य चोकमा मास्कविना हिँडेकाहरूलाई कारबाही प्रकृया सुरु गरिसकेको बताए ।