पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।

आज थपिएका मृतकसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार १०२ पुगेको छ।

मंगलबार देशभर एक हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन्। बितेको २४ घण्टामा आठ हजार ७३८ जनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा एक हजार ७३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दैनिक बढिरहेको छ। आइतबार एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार एक हजार २८१ जना संक्रमित भेटिएका थिए।

थपिएका नयाँ संक्रमितसँगै कुल सक्रिय संक्रमितको संख्या आठ हजार ६५९ पुगेको छ।