सीमा नाकामा विशु पर्व मनाउन घर फर्कनेको लर्को

मेहन्द्रनगर, २९ चैत । भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन घर फर्किन थालेका छन् ।

भारतमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ । उनीहरु कोरोना कहरको त्रासदीका बीच रोजगारीकालागि भारत गएका थिए ।

सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकहरुको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि संकट नआउने जनविश्वास छ ।