प्रदेशबाटै लोकसेवा विज्ञापन खोल्ने तयारी

धनगढी, २८ चैत । सुदूरपश्चिम प्रदेशमा लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन भएकोछ। यज्ञराज बोहराको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम लोक सेवा आयोगमा लक्ष्मण खड्का र भागरथी राना सदस्य रहेका छन्।

आयोगले नयाँ वर्षबाट पदपूर्तिको विज्ञापन गरी प्रदेशबाटै कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेशमा अहिले पनि ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेका छन्। रिक्त दरबन्दीमा तत्काल कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने आयोगको तयारी छ।

प्रदेशभर २ हजार ३ सय ११ कर्मचारीको दरबन्दी रहेकोमा चार सय ७० जना प्राविधिक र चार सय ६३ जना अप्राविधिक गरी नौ सय भन्दा बढी कर्मचारीको पद अहिले पनि रिक्त छ। कर्मचारीको पदपूर्ति गर्न लोकसेवालाई स्वतन्त्र रूपमा काम गर्न दिई त्यसको प्रभावकारिता बढाउनुपर्ने प्रदेश सरकारको भनाइ छ।