प्रधानमन्त्री स्वरोजगार कार्यक्रम विपन्न महिलाको सहारा बन्दै

कैलाली, १४ चैत । प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिए पनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित नभएको गुनासो पोख्दै आएका छन् । रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा खर्च गरिएको भन्दै यो कार्यक्रमको मजाक समेत उडाइएको छ ।

तर गोदावरी नगरपालिका–८ जमुनानगर टोलकी ५० वर्षीया तारा भुललाई भने सोही कार्यक्रम सहारा बनेको छ ।

उनी दिनभरि सडक निर्माणमा लाग्छिन्। नातिनातिनासँगै खेल्ने उमेरमा उनी बेल्चासँगै खेल्छिन्। बेल्चा चलाउनु उनको रहर नभएर बाध्यता हो।

“घरमा २ छोरा र ३ छोरी, बुहारी नातिनतिना गरि १२ जनाको परिवार छ । जेठो छोरा दिपक भूल भारतमै मजदुरी गर्छन् । बुहारीको भने दुबै किड्नी फेल भएर उपचार विगत दुई वर्षदेखि उपचारमै छन् । कमाउने मान्छे नै विरामी भए, आयआर्जनको केही स्रोत नभएपछि युवा स्वरोजगार कार्यक्रमको सहारा लिनुपरेको छ। यसैले जुजारा चल्छ।”

तारासंगै मिरा नेपालीको कहानीपनि उस्तै छ । उमेरले उनी ३७ पुगिन् । यहि फागुन ३ गतेदेखि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा रोजगारी पाएकी छिन् ।

उनको श्रीमान नरपति नेपाली विगत ८ वर्षदेखि बैदेशिक रोजगारीको शिलशीलामा कतार छन् । श्रीमानलाई कतार पठाउँदा १ कठ्ठा घरबास बाँकी राखेर ६ लाखमा डेढ काठ्ठा जग्गा बेचेको सुनाई । अहिले उनको श्रीमान उतै अर्को विबाह गरेर मिरासंग सम्पर्क विहिन छन् ।

मिरा भन्छिन् ‘जेठो छोरा रोशन नेपाली भारतका मजदुरी गर्छ । केही पैसा छोराले पठाउँछ, त्यहि पैसाले कान्छो छोरालाई पढाईरहेकी छु।’ श्रीमान विदेश जाँदा ६ लाख ऋण लागेको बताउँदै उनले भनिन् ‘विदेशको कमाही एक रुपैयाँ पनि देख्न पाएनौं, उल्टै सौता पो ल्याइएदियो । त्यहिको प्याज तिर्नलाई पनि मजदुरी गर्नुपर्छ ।’

घर बनाउने काममा मजदुरी गर्न जाँदा समयमै पैसा आउँदैन, तर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले महिनाको अन्तिम दिन दिनको ५१७ रुपैयाँको दर तलब दिन्छ । एकदमै खुशी छु मिराले भनिन् ।

यस्तै सडक बनाउँने कार्यमा रहेकी ५३ वर्षीया मीना दमाइको व्यथा पनि कम पीडादयी छैन। उनका श्रीमान ३ वर्षदेखि विरामी भइ थला परेका छन्। छोरा भारतमा मजदुरी गर्न गएको छ, तर आफ्नै तालमा न फोन गर्छ, न पैसा पठाउँछ ।

निर्माधिन एक घरको छायाँमा सुस्ताउँदै गरेकी दमाइले भनिन्, “कमाउने मान्छे पनि कोही छैन। हामी दुईटा सौता छौ। दुवै जनाको गरि ४ जना छोराहरु छन्। सवै इन्दिया बस्छन्। आफै कमाउँछन्, खान्छन्। दिदी (सौता) खुटिया नदीमा गिट्टी कुट्छिन्। बुढा ३ वर्षदेखि विरामी भएर घर बाहिर जान्न। उसलाई पाल्नलाई पनि काम गर्नुपर्छ।”

सो वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत अधिकांश विपन्न समुदायका महिला तथा युवाहरु नै छनोटमा परेका छन्।

गोदावरी नगरापलिकास्थित हरिनगर मुक्तकमैया शिविरका २२ वर्षीय अशोक चौधरीको बुवाले कमैया मुक्तीपछि सरकारबाट पाएको सानो जमिनमा ओत लाग्ने झुप्रो बनाएका छन् । अन्य रोजगारी नहुँदा उनी पनि सडक निर्माणको कायमा लागेका हुन्।

गोदाबरी नगरपालिका ८ स्थित जमुनानगरदेखि फकलपुरसम्मको सडक निर्माणमा १४ अति विपन्न वर्गका महिला तथा केही युवाहरु छन्। उनीहरुको जुजाराको माध्यम नै त्यही कार्यक्रम बन्न पुुगेको वडा अध्यक्ष नरेश अधिकारी बताउँछन्। वडाको अन्य स्थानमा जारी कार्यक्रममा पनि विपन्न वर्गलाई नै प्राथमिकतामा राखिएको उनले बताए ।

निमार्ण कार्यप्रति स्थानीय सन्तुष्ट

कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरका स्थानीय टीका कुमारी चौधरी आफ्नै घर आँगन भएर सडक निर्माणको कार्य धमाधम हुन थालेपछि उनी उनी खुशी छन्।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे अन्य ठाउँमा निष्प्रभावी भएको सुन्दै आएका उनी सोही कार्यक्रममार्फत घर अगाडि बनिरहेको सडक देखेर खुशी व्यक्त गरिन् ।

दोजरले यो बाटो निर्माण गरेको भएको घर वरिपरि सबै सत्यनाश हुन्थ्यो, स्वरोजगार कार्यक्रममा रोजगारी पाएकाहरुले राम्रोसंग कुनै क्षति नगरि निर्माणको काम गरेका छन् खुशी लाग्यो, टीकाले भनिन् ।

उनी भन्छन्, “यो कार्यक्रम अन्य ठाउँमा भत्ता पचाउने र झारो टार्ने कार्यक्रमको रुपमा मात्रै चिनिन्छ। म विभिन्न कार्यक्रमको शिलशिलामा धेरै घुमिरहन्छु। तर देशभरिको स्थिति हेर्दा यहाँ त धेरै राम्रो काम भएको लाग्यो।”

चालु आर्थिक वर्षमा मात्रै गोदावरी नगरपालिका वडा नं. ८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ३ वटा सडक र १ वडा पार्क निर्माण हुँदैछ। वडास्थित जमुनानगरदेखि फकलपुरसम्म डेढ किलोमिटर, खुटिया मटियारी रोडदेखि समैजी माध्यमिक विद्यालयसम्म ८ सय मिटर र खुटिया मटियारी रोडदेखि खुटिया रोयल्टी चोकसम्म डेढ किलोमिटर सडक निर्माण भइरहेको छ।

वडा कार्यालयका अनुसार सो सडक पटानीको काम फागुन ३ गतेदेखि थालिएको छ। कार्यक्रमबाट एकातिर विकासको काम राम्रो भएको र अर्कोतिर विपन्न परिवारको जिविकोपार्जनको माध्यम बनेपछि खुशी लागेको बताउँछन् फकलपुरका भलमन्सा यमबहादुर चौधरी। अरु ठाउँभन्दा राम्रो काम भएको पनि उनको भनाइ थियो।

वडा अध्यक्ष नरेशबहादुर अधिकारीले माटो पटानी लगत्तै ग्राबेल गरेर पानी पीचसम्मको सडक स्तरोन्ती गर्ने योजना रहेको सुनाए।
अध्यक्ष अधिकारीले भने, ‘सायद मलाई लाग्छ, मेसिनले यो काम गराएको भए यतिसम्मको काम हुन्दैनथ्यो कि ? तर यहाँ कार्यरत विपन्न समुदायका दिदी बहिनीहरुको मेहनतले काम राम्रो भएको जस्तो लागेको छ।’

सो वडामा अधिकांश विपन्न दलित समुदायका महिलाहरुले निर्माणको काममा खटिएका छन्। कोदालो र बेल्चाकाको भरमा उनीहरु निर्माणको कार्यमा जुटेका हुन्। स्थानीय विपन्न समुदायका गृहणी महिलाहरुले निर्माण गरेको सडकले एकातिर स्थानीयको मन जितेको छ। भने अर्कोतिर स्वरोजगार कार्यक्रमले आफुहरुको गुजारा चलेको भन्दै सडक निर्माण कार्यमा संलग्न महिलाहरु खुशी छन्।