टीकापुर राजबन्दी परिवारले रेशम चौधरीको संयोजकत्वमा वार्ता टोली बनायो, सम्बोधन नभए शसक्त आन्दोलन गर्ने (भिडियो सहित)

धनगढी, १३ चैत । टीकापुर जेलबन्दी परिवारले सांसद रेशम लाल चौधरीको संयोजत्वमा ६ जनाको वार्ता टोली गठन गरेका छन् ।

टीकापुर मुद्दामा अदालतले जेल सजाय सुनाइएपछि जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीको संयोजकत्वमा थरुहट नेता लक्ष्मण थारु, रामप्रसाद चौधरी, चुन्नी चौधरी, विना चौधरी र यमुना चौधरीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।

उच्च अदालत दिपायलको फैसलापछि अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले शुक्रबार पत्रकार सम्मेलन गर्दै टीकापुर राजबन्दीको तर्फबाट वार्ता टोली गठन गरेको जानकारी दिए।

वार्ता टोली गठनसहित पत्रकार सम्मेलनमार्फत ४ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ। मोर्चाका संयोजक थारुले चैत्र २० गतेभित्र टीकापुर घटना सम्बन्धी मुद्दाको अपिल सर्वोच्च अदालतमा दायर गर्ने बताए। त्यस्तै थरुहटरथारुवान आन्दोलनले उठान गरेको मुद्दा र टीकापुर मुद्दालाई सम्बोधनका लागि संघर्षरत सबै पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। भने १ महिनाभित्रै आफुहरुको माग सम्बोधन नभए मोर्चाले सबैसँग समन्वय गर्दै सरकार विरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिए।

टीकापुर घटना सम्बन्धी झुठा मुद्दा खारेज हुनुपर्ने बताउँदै संयोजक थारुले सबै राजनीतिक दल, थारु कल्याणकारिणी सभा, सरकारी पक्षलगायत सबै सरोकारवालासँग वार्ता गर्नको लागि वार्ता टोली गठन गरेको दाबी गरे।

जनता समाजवादी पार्टी केपी ओली नेतृत्वको सरकारमा जाने चर्चापछि वार्ता टोली गठन भयो नि रु भन्ने जिज्ञासामा संयोजक थारुले भने, “सरकार तथा सत्ता समिकरणबारे हामीलाई कुनै सरोकार छैन। हामीलाई यतिमात्रै थाहा छ, टीकापुुर घटना मुद्दाले कसैको सरकार बनाउँने वा गिराउनेसँग सरोकार राख्दैन। झुठा मुद्दा हो, खारेज हुनुपर्छ।”