विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गर्न आग्रह

धनगढी, १३ चैत । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले विदेशमा सिकेको सीप स्वदेशमै लागु गर्न आग्रह गरेका छिन् ।

ओरेक नेपाल, कैलालीको आयोजनामा भएको वैदेशिक रोजगारबाट आएका व्यक्तिहरुको समस्या तथा चुनौती विषयक सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा कार्यक्रम सभापति जोशीले बताइन् ।

‘विदेशमा एक÷दुई बर्ष कमाएर स्वदेश फर्केनै पर्छ । त्यहाँ सिकेका सीप स्वदेशमा आएर सदुपयोग गरे कम मेहनतमा धेरै आम्दानी गर्न सकिन्छ ।’

दक्षता अनुसार काम गर्न चहानेहरुलाई प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको प्रतिबद्धता थियो ।

उनले भाबुक हुदै भनेका थिए ‘सक्दो अफ्नै देशमा काम गरौं, जाने बाध्यता नै आईपरिहाल्यो भने सीप सिकेर बैधानिक बाटो मात्रै अपनाउँ होईन भने धेरै दुख पाइन्छ ।’

राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश प्रमुख मोहन जोशीले प्रदेश सरकार कानून बनाउनेबेला रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई समेतेर स्वदेशमै काम गर्न सक्ने बातावरण सृर्जना हुने खालको कानून निर्माण गर्न आग्रह गरे । उनले विदेशबाट आएका महिलाहरुलाई समाजमा पुनस्र्थापनाको बातावरण बनाउनमा पनि सरकारले सोच्नुपर्ने बताए ।

श्रम तथा रोजगार कार्यालय धनगढीको जयदेव विष्ट श्रम स्वीकृत लिएर मात्रै बैदेशिक रोजगारी जान अनुरोध गरे । बैधानिकता अपनाएर बैदेशिक रोजगारीमा जानेको संख्या एकदमै न्यून रहेको उनले बताए ।

आर्थिक बर्ष २०७५/०७६ मा १५ सय २९ जना, २०७६/०७७ मा ३२ सय जना र चालु र्आर्थक बर्षमा ५९६ जना मात्रै वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएको तथ्यांक रहेको बताए । जुन कारण बैदेशिक रोजगारमा गएकाहरु अफ्नै लापारवाहीले दुःख झेल्न बाध्य भएको विष्टको भनाई थियो ।

यस्तै जिल्ला बारको अध्यक्ष सिद्धराज ओझाले फ्रि भीस फ्रि टिकट कार्यान्वयन हुन नसकेकोले बैदेशिक रोजगारीमा जानेहरु अबैधानिक बाटो अपनाउन बाध्य रहेको बताए । बैदेशिक रोजगारमा ठगिएकाहरुलाई बारबाट निशुल्क कानूनी सेवा दिने प्रतिबद्धता जनाए ।

कार्यक्रम ओरेक नेपालको कार्यक्रम संयोजक सृष्टि कोलाक्छेपति वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिहरुको समस्या र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिईन् ।