कोरोनाको जोखिम बढेसँगै होलीमा भिडभाड नगर्न प्रशासनको निर्देशक

कैलाली, ११ चैत । स्थानीय प्रशासनहरूले कोभिड–१९ को संक्रमणबाट बच्न होली, जात्रा लगायत मनाउँदा भीडभाड नगर्न निर्देशन दिएको छ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कैलाली, कञ्चनपुर, बर्दिया र तनहुँ लगायतले सूचना जारी गरेर होलीमा भिडभाड नगर्न तथा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न आग्रह गर्दै ८ चैतमै सभा, जुलुस, भेला, सेमिनार, बैठक नगर्न आग्रह गरिसकेको छ। भौतिक दूरी, मास्कको प्रयोग, साबुन–पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि भनेको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै जिल्लाभर होलीमा भिडभाड रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गरेका छन्।

यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ। भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ । आदेशको अवज्ञा गरे कारवाही हुने प्रशासनले जनाएको छ ।