टीकापुर स्थित खाद्य संस्थानको गोदाम अगाडि बम फेला

कैलाली, ८ चैत । कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि बम फेला परेको छ । खाद्य गोदाम रोडमा नाला निर्माणका लागि स्काइभेटरले खन्ने क्रममा सकेट बम फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमका अनुसार बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको जनाएको छ । आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको हुनाले सकेट बम हुन सक्ने निरीक्षक बमले बताए । उक्त बम द्धन्द्धकालमा राखिएको हुन सक्ने बताइएको छ ।

घटनास्थल वरपर नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।