थारु लेखक संघले नगद ११ हजार १११ सहित एक जना थारु स्रष्टालाई सम्मान गर्ने
धनगढी, ८ चैत । थारू लेखक संघ नेपाल कैलालीले ‘थारू साहित्य पुरस्कार २०७७’ बाट एकजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
संघका अध्यक्ष सीताराम चौधरीले पहिलो वर्ष नगद ११ हजार १११ सहित एक जना थारु स्रष्टालाई सम्मान गर्ने बताए । उनले धनगढीमा बसेको कार्यसमितिको बैठकले यहि चैत २१ र २२ गते सुर्खेतमा हुने पाँचौ राष्ट्रिय थारू साहित्य सम्मेलनमा स्रष्टालाई सम्मान गर्ने जानकारी दिए ।
बैठकले संघले प्रदान गर्ने थारू साहित्य पुरस्कारका लागि डा. कृष्णराज सर्वहारीको संयोजकत्व रहने गरि ५ सदस्यीय मूल्यांकन समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा सुशिल चौधरी (बर्दिया), दिलबहादुर चौधरी (कैलाली), शान्ति चौधरी (बारा) र सदस्य सचिव सत्यनारायण चौधरी (कैलाली) रहेका छन् ।
यसका साथै संघले पुरस्कारका लागि इच्छुक कृतिकारलाई यहि चैत १५ गते भित्र थारु भाषामा लेखिएका २०७६ र २०७७ सालको कृतिहरु मध्ये कुनै १ कृति मनोनय दर्ताका लागि अनुरोध गरेको छ ।
संघको बैठकले थारू साहित्य पुररस्कार व्यवस्थापन निर्देशिका २०७७ समेत पारित गरेको छ । थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पुर्याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धान कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले २ लाख २५ हजारको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको कम्तीमा २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई सम्मान गर्ने अध्यक्ष चौधरीले बताए ।













