फेडो कैलालीका अध्यक्ष पुनमको उपचारकालागि सहयोगको अपिल

धनगढी, ५ चैत । फेडो कैलालीका अध्यक्ष पुनम सिजापति विगत एक वर्षदेखि विरामी भएर थला परेकी छिन् । २०७६ साल माघ महिनामा उनको घाँटीमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल कैलालीमा उनी उपचार गराईन् ।

पुनमको श्रीमान विनोद घिमिरका अनुसार घनगढीको स्थापित डाक्टर शुभेषराज कायस्थ र डाक्टर अशोक श्रीपाईलीलाई देखाउँदा रोग पत्ता नलागेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरियो ।

सिजापतिको उपचार कोहोलपुरमा पनि सम्भव नभएपछि काठमाडौंको अन्नपूर्ण न्यूरो लगियो । त्यहाँबाट रेफर गरि मनमोहन मेमोरियल काठमाडौंमा पनि रोग पत्ता नलागेपछि अवध मेडिकल एण्ड हर्ट रिसर्च सेन्टर लखनउमा उपचार गराईयो ।

विनोद भन्छन् ‘सुधार हुनुको सट्टा पुनम् झन बढी थला परिन् । अहिले उनको शरिर काम गर्न छोडेको छ । उनी ओछ्यानमै पल्टिएका छन् ।’ रोग पत्ता नलागेपछि उनीहरु अहिले पुनमलाई घरमै राखेर घरेलु उपचार गरिरहेका छन् ।

विरामी भएको वर्ष दिन नघिसकेकोले उपचारमा लाखौं खर्च भईसकेको विनोद बताउँछन् । उनी राम्रो अस्पतालको खोजीसंगै उपचारकोलागि आर्थिक सहयोगको अपिल समेत गरेका छन् । पुनम अधिकारको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील थिईन् ।