मोरङको एक वृद्धामाथि बोक्सी आरोपमा निर्घात कुटपिट
विराटनगर, १ चैत । मोरङको एक वृद्धामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जना मिलेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
वृद्धालाई बाँधेर कुटपिट गरेको जनाइएको छ । उनको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाई, ६० वर्षीय जितनलालसिंह गनगाई, ५० वर्षीय लखनलालसिंह गनगाई, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाई र १९ वर्षीया हैरानी गनगाईले कुटपिट गरेका थिए ।













