जसपा नेताहरु देउवा निवासमा
काठमाडौं, २८ फागुन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दुई पार्टीबीच छलफल सुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शुक्रबार नै जसपासँगको छलफल अगाडि कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको थियो।
यसअघि बिहीबार जसपाका नेताले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए। संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओलीले जसपासँगको छलफल अघि बढाएका हुन् । संसदमा जसपाको ३४ सिट छ ।
सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको थियो । सर्वोच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।
सर्वोच्चको यो निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अलग दल बनेका छन् । माओवादी केन्द्र र एमालेको एकतापछि जुटेको बहुमतले प्रधानमन्त्री बनेका ओलीले माओवादीले समर्थन फिर्ता लिने तयारी गरेपछि बहुमत जुटाउने कसरत गरिराखेका छन् ।
यता माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपालेसमेत सत्ता समीकरणमा सहयात्राका लागि छलफल चलाइराखेका छन् । अहिले जारी कांग्रेस र जसपाको छलफललाई निर्णयक मानिएको छ । अन्नपुर्णबाट













