खुला तथ्यांक दिवस : धनगढी र कैलारीद्वारा खुल्ला सरकार घोषणा

धनगढी, २२ फागुन । अन्तराष्ट्रिय खुला तथ्यांक दिवसको अवसरमा कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले खुला सरकार घोषणा गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार घोषणापत्रमा हस्ताक्षर गरेर नागरिक अन्तर संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रको धारा १ मा खुला सरकारको अवधारणा अबलम्वन गर्ने कुरा, धारा २ मा खुला सरकारका लागि आवश्य पूर्वाधार निर्माण गर्ने, धारा ३ मा सूचना तथा आँकडाहरु प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख वडले आफूहरुको नेतृत्व आएदेखि नै खुला सरकारको अवधारणा अनुसारका क्रियाकलाप गर्दै आएको बताए । खुला सरकारलाई प्रवद्र्धन गर्ने औजारहरुको प्रयोग समेत गरिएको नगर प्रमुख वडले भने ।

यस्तै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार निर्माणका लागि पालना गर्नुपर्ने सबै सर्त पालना गरिएको बताए । उनले ‘खुला सरकारका लागि सरकार नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायी हुनुपर्छ त्यो कुरामा हामी सधै प्रतिवद्ध छौं ।’

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा ग्राम विकास तथा अनुसन्धान केन्द्रले सुशासन परियोजना अन्तरगत आईएमएस, डाटा पोर्टल, ई सिफारिस, वेइभ साईटहरु, म्यासेजिङ्ग सिस्टम लगायत प्रविधि मार्फत सूचना प्रवाह गर्न सहयोग पुर्याएको छ ।

केन्द्रले कैलाली जनपुस्तकालयमा सामुदायीक सूचना केन्द्रको स्थापना समेत गरेका छन् । सामुदायीक सूचना केन्द्रको नगरप्रमुख वड र गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।