प्रेम सम्बन्ध विग्रिएपछि प्रेमिकाद्वरा रानाको हत्या

धनगढी, २० फागुन । कैलालीको गोदावरी नगरपालिका–५, गेटीका ३५ वर्षीया शिवचरण रानाको हत्या उनकै प्रेमिकाको योजनामा भएको खुलेको छ । रानाकी प्रेमिकाको योजनामा दुई जनाले हत्या गरेको प्रहरीले दावी गरेको छ । गत फागुन १५ गते रानाको विभत्स हत्या भएको थियो ।

टाउकोमा धारिलो हतियारले प्रहार गरेको अवस्थामा रानाको शव निर्माणाधीन गेटा मेडिकल कलेजको नालीमा फेला परेको थियो । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ३७ वर्षीया जयन्ती चौधरीलाई सार्वजनिक गरेको छ । उनकै योजनामा अन्य दुई जनाले रानाको हत्या गरेको प्रहरीको दावी छ ।

रानाको हत्या उनकी प्रेमिकाको योजनामा भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शिवचरण र जयन्तीबीच लामो समयदेखि अनैतिक सम्बन्ध रहेको र सम्बन्ध बिग्रिन थालेपछि हत्या भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक अनुपम शम्शेर जबराले बताए ।

उनीहरु दुवै जना विवाहित हुन् । घटना अनैनिक सम्बन्धले भएको जबराले बताए । प्रहरीका अनुसार दुवै जनाको अनैतिक सम्बन्ध खुलेपछि यसअघि गाउँले बसेर दुई लाख रुपैयाँ लेनदेनमा मेलमिलाप गराएका थिए । प्रहरीका अनुसार समाजले मेलमिलाप गरिएपछि दुवै जनाबीचको सम्बन्ध टुटेको थियो । तर केही समयपछि दुवै जना पुनः नजिकिएका थिए ।

नजिकिए पनि दुवै जनाबीच एकअर्काप्रति अविश्वास बढेको र रानाको सम्बन्ध अर्की महिलासँग पनि रहेको थाहा पाएपछि जयन्तीले हत्याको योजना बनाएको प्रहरी उपरिक्षक जबराले बताए । रानाको सम्बन्ध आफूभन्दा बाहेकका महिलासँग पनि रहेको थाहा पाएपछि विक्षिप्त भएर जयन्तीले उनको हत्या गरेको खुलेको प्रहरी उपरिक्षक जबराले बताए ।

आफैले हत्या गर्न नसकेपछि जयन्तीले दुई जना आफन्त लगाएर हत्या गरेको प्रहरीको दावी छ । हत्यामा संलग्न भनिएका दुवै जना भने फरार रहेका प्रहरीको भनाइ छ । जयन्तीले आफ्ना दुई जना नातेदारलाई पैसा दिएर हत्या गर्न लगाएको प्रहरी उपरिक्षक जबराले बताए । प्रहरीका अनुसार अभियुक्तले यसअघि पनि हत्याको प्रयास गरेका थिए ।

जयन्तीले आफ्नै योजनामा हत्या भएको स्वीकार गरेकी प्रहरीको दावी छ । हत्यामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । फागुन गते बिहान चार बजेतिर पसलबाट भैसी दुहुन घर जाने क्रममा रानाको हत्या गरेको बयान जयन्तीले दिएकी प्रहरीको भनाइ छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार विवाहित भएकाले दुवै जनाको अनैतिक सम्बन्धले घरमा पारिवारिक झगडासमेत हुने गरेको थियो । रानासँगको अनैतिक सम्बन्धबारे जयन्तीका श्रीमानलाई थाहा रहेको र यस विषयमा उनीहरु बीच झगडा पनि हुने गरेको बताइएको छ । गत फागुन १४ गते जयन्ती र निजको नाता पर्ने निज पुरुष व्यक्ति बिच टेलिफोन भई भोलिपल्टको बिहान १५ गते शिवचरणलाई मार्नुपर्छ भन्ने योजनाका साथ सो कार्य गरेको प्रकाउ परेकी ति युवतिले प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनाको मुख्य योजनाकार भनिएकी चौधरीलाई प्रहरीले प्रकाउ गरेपनि घटनामा संलग्न अन्य दुई अभियुक्त भने फरार रहेका छन् । उनिहरुको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।