‘दासत्व अन्त्य गर्न थारु समुदाय आगोको ज्वाला बन्नु पर्छ’

हसुलिया, १५ फागुन । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दासत्व अन्त्य गर्न थारु समुदाय आगोको ज्वाला बन्नु पर्ने बताएका छन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुई दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अत्याचार भएका कारण थारु समुदाय आगो नभइ ज्वाला बनिसकेको उल्लेख गर्दै त्यही ज्वालाले टीकापुर विद्रोह निम्त्याएको बताए ।

नेता महतोले अब दुनियाँका कुनै पनि शक्ति थारुलाई गुलाम बनाउन नसक्ने तर्क दिए । ‘टीकापुर घटना होइन, त्यो थारु समुदायको विद्रोह हो ।’

अधिकारका लागि यो देशमा अन्तिम लडाई लड्न बाँकी रहेको बताउदै थारु समुदायले अधिकार माग्दा अपराधको विल्ला भिराईन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको बताए ।

अधिकार र पहिचानका लागि आन्दोलन गर्ने रेशमलाल चौधरी र लक्ष्मण थारुलाई कारागार बसाउनु अन्याय हो भन्दै प्रतिप्रश्न गरे ‘अरे, थारु समुदायले पहिचान र अधिकार माग्नु अपराध हो भने १७ हजार मान्छे मारेका प्रचण्डले किन जेल बस्नु पर्दैन ? १७ हजार मान्छे मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने, यो कस्तो व्यवस्था हो, कस्तो संविधान हो ?’

यस्तै थरुहट मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले उच्च अदालत दिपायलले नश्लीयपूर्ण, पूर्वाग्राही, गद फैसला सुनाएर जन्मकैदको फैलाला सुनाएको बताए । उनले अडियो रेकर्ड मार्फत ‘हामी थारुहरुले लेख्दा, बोल्दा, संगठित भेला हुँदा र सम्मेलन गर्दा यो देशका शासकहरुले आतंककारी, ज्यानमारा भन्छन्, हामीलाई लुटेरा डाँकाको व्यवहार गर्छन् । बोल्नबाट वञ्चित गर्छन् । तर अब कुनैपनि हालतमा रोकिदैन् । यो हाम्रो भेला संगठन, हाम्रो एकता, हाम्रो अभियान र हाम्रो आन्दोलन दासता विरुद्धको विद्रोह कसैले रोकेर पनि रोकिने छैन । प्रशासनको धाक धम्की त्रास हामीमाथिको झुठा मुद्धा, सांसद रेशम चौधरीमाथिको जन्मकैदको फैसला हामी मान्न तयार छैनौँ ।’

सम्बोधनकै क्रममा संयोजक थारुले भने ‘ हामी यो देशको आदिवासी धर्तीपुत्र हौँ । यो देशको सबभन्दा इमान्दार समुदाय हौँ । टीकापुर घटना थारुले घटाएका होइन । हामी मात्र बोलिरहेका छैनौ, नेपाली कांग्रेस, नेकपा, जसपा लगायत थारुहरुले बोलिरहेका छन्, स्वतन्त्र व्यक्तिहरुले बोलिरहेका छन् । थारु माथि झुठा मुद्धा लगाएर अन्यायई भईरहेको छ ।’

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले टीकापुर घटना राजनीतिक घटना भएपनि थारुमाथि दमन गरी राज्यले निर्दोष थारुलाई पक्राउ गरी मुद्दा लगाएको टिप्पणी गरे । तत्कालिन सरकारले टीकापुर घटना राजनीतिक आन्दोलन हो भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेपनि कार्यान्वयनमा नआएको बताए ।

यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले वर्तमान संविधानले थारुमाथि विभेद कायमै राखेकाले संशोधन नगरेसम्म चुप नबस्ने बताए । उनले सदियौंदेखि राज्यबाट विभेदमा परेका थारु समुदाय अब विभेद पर्खाल भत्काएरै छाड्ने चेतावनी दिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेपाल आदिवासी जनजातिका पूर्व महासचिव आङकाजी शेर्पा, मगरात संघर्ष समितिका संयोजक राम मगर लगायतले सम्बोधन गरेका थिएका थिए ।