सरकारले पत्रकारितालाई नियन्त्रण गर्न खोजेको आरोप
कैलाली, ११ फागुन । नेपाल पत्रकार महासंघ कैलालीको ११ औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले सरकार पत्रकारितालाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । सरकारले समयमा अनलाइन नविकरण नगरे दर्ता खारेज गर्ने व्यवस्था पत्रकारितालाई नियन्त्रण गर्ने अभिप्रायले ल्याएको उनको आरोप छ ।
‘२०४७ सालको संविधानले दिएको प्रेस स्वतन्त्रता समेत हनन् गर्ने काम भएको छ’ उनले भने–‘कुनै पनि बहनामा सञ्चार माध्यम दर्ता खारेज हुनु हुँदैन ।’
उनले महासंघ पत्रकार र पत्रकारिताको भौतिक र पेशागत सुरक्षा प्रति सदैव संवेदनशील रहँदै आएको बताए । श्रमजीवी पत्रकारको हकमा महासंघले निरन्तर आन्दोलन गरेको स्मरण गराउदै ‘हामी निरन्तर आन्दोलनमा रह्यौं, सबै समस्या समाधान त हुन सकेको छैन तर केही उपलब्धी हासिल भने भएको छ ।’
उनले महासंघको हरेक सदस्यले आफ्नो नेतृत्व चयन गर्न पाउनुपर्ने मुद्दालाई वर्तमान कार्य समितिले स्थापित गर्न विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्था गरेको बताए ।
उनका अनुसार महासंघको तीनै तहको निर्वाचन एकैदिन एकैसमयमा हुनेछ । कार्य समितिको बैठकले चैतको दोस्रो सातासम्ममा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, उपाध्यक्ष चाँदनी आचार्य, महासचिव योगेश रावल, अग्रज पत्रकारहरु घनबहादुर शाह, मनमोहन स्वाँर, करुणाकर पाण्डे, उमिद बागचन, कर्ण शाह, भुवनेश्वर अधिकारी लगायतले मनतव्य दिएका थिए ।
महासंघ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको साधारण सभाले अग्रज पत्रकार घनबहादुर शाह, मनमोहन स्वाँर, करुणाकर पाण्डे, उमिद बागचन, सिद्धराज भट्टलाई सम्मान गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ कैलालीका पूर्वअध्यक्ष स्व. लीलानाथ ओझालाई मरणोपरान्त सम्मान गरिएको छ ।













