१७ औं दिनपछि भागरथीको अन्तिम संस्कार

बैतडी, ७ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको १७ औं दिन (आज) दाहसंस्कार भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गरिएको हो ।

यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेपछि भागरथीको आफन्तले शव बुझेका हुन् ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन ।

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेका हुन् ।