एभरेष्ट एकेडेमीका विद्यार्थीले तयार पारेको ‘भुमिका’ नाटक : छोरी हुनुको पीडाबारे चित्रण
कैलाली, ६ फागुन । कैलालीको अत्तरिया स्थित एभरेष्ट एकेडेमीका विद्यार्थीहरु ‘भुमिका’ नामक नाटक प्रदर्शन गरेका छन् । बुधबार ऐकेडेमी स्कुलमै प्रदर्शन भएको नाटकमा छोरी भएर जन्मनु र छोरी भएकै कारण समाजमा भोग्नु परेका पिंडालाई चित्रण गरिएको थियो । नाटकका कलाकार एकेडेमीमा अध्ययनरत छात्रछात्रा हुन् ।
सुदूरपश्चिमकी चेली निर्मला पन्त, भागरथी भट्ट, माया विक लगायत जसको बलात्कारपछि विभत्स हत्या भयो । नाटकमा त्यस्ता चेलीहरुको भुमिकालाई चित्रण गर्न भुमिका नाटक निर्माण गरिएको एभरेष्ट एकेडेमीका प्रिन्सिपल स्माईल चौधरीले जानकारी दिए ।
धनगढी र अत्तरियाका अधिकारकर्मीहरुको सहभागितामा सो नाटक अत्तरियामा प्रदर्शन गरिएको थियो । नाटक प्रर्दशन पश्चात नाटकले समाजमा घटेका घटनालाई सहि रुपमा चित्रण गरेको सहभागिहरुले बताए ।
नाटकमा सहभागिहरु निकै भावविह्ल बन्न पुगेका थिए । समाजमा घटेका घटनालाई कहिकतै तोडमोड नगरी देखाएको भुमिका नामक नाटक सत्य घटनामा आधारित मात्र नभएरै मन छुने गरी निर्माण भएको महिला अधिकारकर्मी सावित्री घिमिरेले बताइन् । नाटक हेरेर मेरो आँशु रोक्न खोज्दा पनि रोकिएन, नाटक हेर्न धनगढीबाट अत्तरिया आएको फलदायि भएको उनको प्रतिक्रिया थियो ।

छोरी भएर पाएको दुःख कति दर्दनाक छ, महिला अष्मितामाथिको प्रहार नाटकले छताछुल्ल पारिदिएको भन्दै समाज परिवर्तन र हाम्रो समाजभित्रको विकृतिलाई नाटकले उजागर गर्न खोजेको प्याब्सन गोदावरीका अध्यक्ष जगदिश थापाले बताए । भुमिका नाटकले छोरीहरुको भुमिका खोजिरहेको छ । समाजको यथार्थ चित्रण भुमिकामा प्रष्टै देख्न सकिन्छ ।
नाटकमा सहभागिताका लागि अर्थपुर्ण सहभागिता मात्र जुटेको थिएन सहभागिहरुका करिव आधा घण्टाको नाटक हेरेर आँखा नै रसाएका थिए । एक हप्ताको तयारीमा तयार पारिएको नाटकले पीडामा परेका छोरीचेलीको बाध्यात्मक परिस्थितिलाई उठाउने प्रयास गरिएको थियो ।
एभरेष्ट एकेडेमीको कक्षा कोठाभित्र प्रदर्शन गरिएको भुमिका नामक नाटक नाट्य कलाकार पुष्पराज अवस्थीको लेखन÷निर्देशन र सुनिल पन्तको कोरियोग्राफिमा प्रदर्शन गरिएको थियो ।
सुदूरपश्चिमको भाषासंस्कृतिलाई उजागर गर्ने गरी यो प्रकारको नाटकको आयोजना गरिएको एभरेष्ट एकेडेमीका प्राचार्य स्माइल चौधरीले बताए । छोरीहरुमाथि भइरहेको अन्याय अत्याचार विरुद्धको अभियानको रुपमा नाटक प्रदर्शन गरिएको उनले बताए ।

यसै बिच सुदूरपश्चिम प्रदेशभित्र नाट्य घर स्थापनाका लागि अभियान चलाउने तयारी भइरहेको नाट्य लेखक एवं निर्देशक अवस्थीले बताएका छन् । प्रतिभाहरुको खोजी र नयाँनयाँ प्रतिभा जन्माउने माध्यम नै नाट्य घर भएकाले यसका लागि अभियान नै चलाएर अघि बढ्ने तयारी भइरहेको जानकारी गराएका हुन् । अन्य प्रदेशहरुमा नाट्य घर स्थापना भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेश मात्र अव पछाडी पर्नु हुन्न वा पारिनु हुन्न भन्ने उद्देश्यसहित छिट्टै यो अभियानमा जुट्ने नाट्य लेखक एवं निर्देशक अवस्थीले बताए ।
प्रदेशभित्र नाट्य घर स्थापनाका लागि आफुहरुले पनि सक्दो सहयोग र पहल गर्ने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । अन्य प्रदेशमा नाट्य घर स्थापना भइसकेको अवस्थामा यहाँ मात्र नहुनु दुःखद भएको बताउँदै उनले यसका लागि व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताए ।
एभरेष्ट एकेडेमीले आयोजना गरेको भुमिका नामक नाटक हेर्न उपस्थित सहभागिहरुले नाटक हेरिसकेपछि नाट्य घर स्थापनाको आवश्यकतालाई महसुस गरेका छन् ।













