घुरहा नदीमा झोलुङ्गे पुल, स्थानीयलाई ओहोरदोहोर गर्न सहज
हसुलिया, ५ फागुन । कैलालीको कैलारी गाउँपालिका–९ स्थित घुरहा नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
सो पुलको उद्घाटन बुधबार कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गरेका हुन । पुल निर्माणले वडा नम्बर ९ को सामरचौरा, शितलपुर लगायतका गाउँका स्थानीयलाई ओहोरदोहोर गर्न सहज हुनेछ ।

कुल ८८ लाख ६६ हजार रुपैयाँ लगानीमा पुल बनेको झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष रामसमझ चौधरीले बताए । तर, उपभोक्ता समितिमार्फत ३९ लाख ८५ हजार रुपैयाँकोमात्रै कारोबार भएको उनले जनाए । ‘बाँकी रुपैयाँको सामान केन्द्रबाटै आएको थियो’, उनले भने ।
पुलका लागि समितिलाई केन्द्रबाट ३२ लाख ७८ हजार, कैलारी गाउँपालिकाको कार्यालयबाट पाँच लाख ३० हजार सहयोग भएको जनाइएको छ ।
यसैगरी, जनश्रमदानबाट एक लाख ७६ हजार रुपैयाँ सहयोग भएको जनाइएको छ । झोलुङ्गे पुल उद्घाटन अवसरमा वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरी, नेकपाका नेता बतासु चौधरी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।













