भागरथीको हत्यामा संलग्न आरोपी पक्राउ, घरायसी रिसिबीका कारण घाँटी थिचेर हत्या गरेको बयान

धनगढी, ५ फागुन । बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न एक यूवा पक्राउ परेका छन् ।

हत्यामा संलग्न भनिने दिनेश भट्टले साविति बयानमा हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पुरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो । दिनेश भागरथीका नजिकका भाइ नाता पर्छन् ।

दिनेश टिफिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टिफिनमा घर आएका भानदेव भट्ट र लिलाघर भट्टले उनलाई खोचलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढने सनातन धर्म माविबाट झण्डै ५र७ मिनेटको पैदल दुरीमा पर्छ ।

खोचलेक बजारमा तीनैजना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कतिबेला जाने भनेर सोधिन । भानदेब र लिलाधरले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।

भानदेब र लिलाधर कपाल काटन सैलुन छिरे । तर दिनेश त्यहाँबाट भागरथीको भन्दा चाररपाँच मिनेट पछाडि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पुरै कक्षा पढेर आएको जस्ता झुटो कुराले उनीमाथि गहिरो अनुसन्धान थालेको थियो।

’दिनेशले विद्यालयबाट हिँडेको समय १ः४५ बजे हो । भागरथी र तीनैजनाको १ः५० मा खोचलेकमा भेटभयो । त्यसपछि घटनास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २ः३० हो । तर दिनेश ३ः२५ सम्म घटनास्थल नजिकै छन् । उनले, घरमा पुरै पिरियड पढेर आएको भनेपनि पत्याउन नसकिने देखिन्छ,’ प्रहरी स्रोत भन्छ,’ तर उनले टिफिनमा कक्षा छोडेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुसन्धान बढी केन्द्रित पारिएको थियो।’

प्रहरीले दिनेशलाई ३ : २५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन्। ’प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ।

दिनेश शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केही बेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यसदिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो ।

भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन्,’ एक प्रहरी अधिकृतले भने ।

भागरथीकी आमाले भागरथी आइन र ? भनि सोध्दा दिनेशले नदेखेको बताएका थिए । ’भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डराएर छटपटिए झैं हुन्थे, ’ती प्रहरी अधिकृतले भने । तर मंगलबारको बेलुकी उनले साविति बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् ।

यस्तो छ साविति बयान

म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे ।

घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन। उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।

भागरथीको बलात्कारका बारेमा मौन

दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए । पञ्चकुमार अब्बल अपराध विज्ञ मानिन्छन् । जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । घटनाको प्रकृती हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ।
’जिल्ला प्रहरी कार्यालयमा विस्तृत बयान भइरहेको छ, यी त सबै प्रारम्भिक बयानका आधारमा आएका कुरा हुन, ’ती प्रहरी अधिकृतले भने ।

रुदै स्वीकारे हत्या

दिनेशको सोधपुछमा खटिएका प्रहरी अधिकृतले उनलाई कुनै पनि मानसिक र शारीरिक यातना नदिएर फकाएर बयान गराएको बताएका छन् । बयानमा सहभागी ती अधिकृत भन्छन्, ’नाबालक हो, नाबालकलाई केही सजाय छुट पनि हुन्छ, भनेर फकाइयो। मंगलबार अबेर राती मात्रै साविति बयान दिए । उनी धेरै रोए, अनी घटना बारे भने ।’ अन्नपुर्णबाट।