दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटो फिचर)
काठमाडौं, २८ माघ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतका न्यायाधीशलाई सम्बोधन गर्दै आफ्नो पक्षमा फैसला नगरे ‘दुर्भाग्यपूर्ण’ हुने चेतावनी दिए।
प्रतिनिधि सभा विघटनको विरोधमा ९ माघमा काठमाडौंमा शक्ति प्रर्दशन गरेको नेकपाको दाहाल–नेपाल समूहले २० दिनपछि २८ माघमा दोस्रो पटक शक्ति प्रर्दशन गरेको छ। यसअघि ओली समूहले पनि २३ माघमा काठमाडौंमै शक्ति प्रर्दशन गरेको थियो।

दाहालले प्रधानमन्त्री ओली नसुध्रिए लाखौं जनता बालुवाटार र सिंहदरबार घेर्न जाने बताए। उनले भने, “केपी जी, देख्नुभयो सभा कस्तो हुन्छ ? विरोध प्रर्दशन कस्तो हुन्छ ? तपाँइको लोकतन्त्रको हत्या गर्ने अपराधिक चरित्र नेपाली जनताले बुझिसकेको छ।”

दाहालले सर्वोच्च अदालतका न्यायाधीशलाई सम्बोधन गर्दै जनताको भावनाविपरित काम गरे दुभाग्र्यपूर्ण हुने चेतावनी दिए। उनले भने, “यो लाखौं जनताको उपस्थिती सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरुले पनि देख्नुभएको छ, जनता के चाहेका छन्, जनभावना के छ पनि हेर्नुभएको छ।

ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा फैसला दिनुहुने छ। यदी नेपाली जनताको चाहना र आकंक्षाविपरित केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ।” प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। तस्बीर हिमालखबर













