भागरथीको पोस्टमार्टम : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

धनगढी, २७ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।

बिहीबार मृत अवस्थामा फेला परेकी भट्टको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो।

पोस्टमार्टम रिपोर्ट मंगलबार (आज) प्रहरीलाई दिइएको छ। पोस्टमार्टम रिपोर्टबारे एक उच्च प्रहरी अधिकारीले भन्छन्, ‘बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु पनि छन्। थप अनुसन्धान भने जारी छ।’

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन्।