दोषी पत्ता नलागेसम्म भागरथीको शव नबुझ्ने परिवारको अडान

कैलाली, २६ माघ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पत्ता नलागे सम्म शव नबुझ्ने परिवारको अडान छ ।

शव बुझेपछि न्याय नपाइने आशंका भएकाले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको भागरथीका काका शंकर भट्टले बताए । उनले ‘घटना र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हो ।’

‘अहिलेसम्म प्रहरी–प्रशासनसँग त शंका छैन, कोही पहुँच भएका मानिस दोषी भए पत्ता लाग्न मुस्किल हुन्छ कि भन्ने डर छ, त्यसैले शव बुझेका छैनौं,’ उनले भने । जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिएको हो । रिपोर्ट भने आइसकेको छैन ।

अस्पतालले पोस्टमार्टम रिपोर्ट सोमबार मात्रै दिन सकिने जनाएको छ । अस्पतालका प्रमुख डा. वसन्तराज जोशीका अनुसार संवेदनशील केस भएको र अस्पतालमा बिरामीको चाप बढी भएकाले आइतबार रिपोर्ट तयार पार्न नसकेको बताए । बिहीबार मृत भेटिएकी भागरथीको शव पोस्टमार्टमका लागि शुक्रबार साँझ अस्पताल ल्याइएको थियो ।