भागरथीको हत्या प्रकरण : पाँचौ दिनपनि प्रहरी अलमलमा
धनगढी, २६ माघ । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँचौं दिनपनि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन।
सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीलाई घटनास्थलमा खटाएको छ। धनगढीबाट तालिमप्राप्त कुकुर, काठमाडौंबाट डीएसपी नेतृत्वको सीआईबीको टोली, जिल्ला प्रहरी प्रशासनले कुनै सुराक पत्ता लगाउन सकेका छैनन्।
सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी आइतबार घटनास्थल पुगेका छन्। ‘डीआईजी साप, मेरो टोली, प्रमुख जिल्ला अधिकारीसहितको टोली इलाका प्रहरी कार्यालय खोचलेक (घटनास्थलनजिकको प्रहरी) मुकाम बनाएर बसेका छौं’, एसएसपी पाण्डेले भने, ‘अनुसन्धानमा सबै उपकरण, जनशक्ति परिचालन गरिएको छ। तर, खासै उपलब्धि पाउन सकिएको छैन।’
बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन। घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन। टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो।
त्यसको दोस्रो दिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल र जिल्ला अस्पतालका चिकित्सक वसन्त जोशीसहितको टोली पनि घटनास्थल पुगेको थियो। उक्त दिन पनि लबलेक वनमा पूरै सर्च गर्दा खासै प्रमाण भेटिएन।
एसएसपी पाण्डेले आइतबारको टेक्निकल अनुसन्धानमा भने अनुसन्धान केही साँघुरिएको दाबी गरे। ‘आइतबार केही सकारात्मक कुरा आएको छ। हामी त्यसको भेरिफाई गरिरहेका छौं’, पाण्डेले भने, ‘६ जनासँग सोधपुछ गरिएको छ।’ उनले घटनास्थलमा भेटिएको किशोरीको मोबाइलका आधारमा कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाइएको बताए।
प्रहरी तेस्रो पटक घटनास्थलमा
निर्मला पन्तको घटनाजस्तै पेचिलो देखिएको भागरथी हत्यामा खासै सुराक नपाइएपछि प्रहरीको टोली आइतबार तेस्रो पटक घटनास्थल पुगेको छ। पहिलो दिन बैतडीका डीएसपीसहितको टोली, दोस्रो दिन एसएसपी जानराज पाण्डेसहित सीआईबीको टोली तालिमप्राप्त कुकुर लिएर घटनास्थल पुगेको थियो। आइतबार डीआईजी उत्तम सुवेदीसहितको प्रहरी टोली घटनास्थल पुगेको हो।













