यूवती हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्ष प्रहरी नियन्त्रणमा
धनगढी, २५ माघ । कैलालीमा यूवती हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए।
सञ्जिता चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।
मृतकका दाजु रमेश चौधरीले कार्यवाहक वडाध्यक्षसँग विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सञ्जितालाई झुक्याएर हालै अर्को विवाह गरेको बताए ।
चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको हो । मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।













