एकल महिलाद्वारा कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन
कैलाली, २१ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एकल महिलाद्वारा कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन शुरु गरेका छन् ।
महिलाहरु महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याडमा प्लाष्टिक मिसावट हुने र प्रयोग गरिसकेको प्याड नकुहिने तथा जलाउँदा प्रदूषण हुने भएकाले मानब अधिकारकालागि महिला एकल महिलाले धनगढीबाट पहिलोपटक सहजै कुहिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन गर्न लागेको हो ।
जीआइजेडको आर्थिक सहयोग र धनगढी उपमहानगरपालिकाको समन्वयमा सुदूरपश्चिममै पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको डब्लूएचआरका प्रादेशिक अधिकृत बेद अवस्थीले बताइन् ।
उनले अन्य सेनेटरी प्याड नकुहिने र जताततै फ्याँक्दा प्रदूणष हुने गरेको बताउँदै भनिन्,‘हामीले उत्पादन गरेको सेनेटरी प्याड प्रयोग गरेको ६० दिनभित्रै कुहिन्छ, जसले गर्दा वातावरण प्रदूषण हुँदैन ।’
उनका अनुसार किशोरीहरुको स्वास्थ्य प्रजननलाई ध्यानमा राखेर पहिलो पटक धनगढीबाट कम्पोष्टेबल सेनेटरी प्याड उत्पादन थालिएको हो । यो प्याडमा प्रयोग गरिएको सामग्रीमा प्लाष्टिकरहित हुनुका साथै किशोरीको प्रजनन स्वास्थ्यलाई ख्यालमा राखेर निर्माण गरिएको छ ।

प्रादेशिक अधिकृत अवस्थीले अन्य प्याडको तुलनामा यसमा रसायनरहीत हुनुका साथै प्रयोग गर्दा सहजता हुने बताईन् । लाष्टिकयुक्त सेनेटर प्याड प्रयोग गर्दा सेतो पानी बग्ने, पाठेघरमा इन्फेक्सन हुने लगायतका समस्या देखिन थालेपछि त्यसबाट मुक्ति दिलाउन आफूहरु कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन गर्न शुरु गरेको बताईन् ।
८ वटा पिसको ५० देखि ६० रुपैयाँसम्ममा बजारमा ल्याइने तयारी रहेको बताउँदै उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गर्न स्थानीय निकायसंग सहकार्य भईरहेको बताईन् ।
‘हामीले उत्पादन गरेका सेनेटरी प्याडलाई गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न प्रक्रिया थालेका छौँ, गुणस्तर चिन्ह प्राप्त हुने वित्तिकै बजारमा ल्याउने छौँ ।’ यो उद्योगले एकल महिलाको आयआर्जनमा वृद्धि गर्नुका साथै एकल महिलालाई हौसला प्रर्दान हुने विश्वास रहेको अवस्थीले बताइन् । शूरुवाति चरणमै ५ जना कर्मचारीलाई रोजगारी समेत दिएको संस्थाले जनाएको छ ।













