रक्तअल्पताको समस्या रोक्न किशोरीलाई आइरन र फोलिक एसिड
टीकापुर, १९ माघ । कैलालीको टीकापुर नगरपालिका जानकी गाउँपालिकाका किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन सुरु गरेको छ ।
नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विद्यालय र समुदायमा रहेका हजारौं किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाइ रहेको स्रोतले बताए ।
किशोरीहरुमा रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार कैलाली जिल्लाभरी किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाइने टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए ।
‘‘टीकापुर नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ७४ विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन तथा फोलिक एसिड चक्की खुवाउन सुरु भएको छ’’, संयोजक रावलले भने, ‘‘हप्तामा एक दिन हरेक आइतबार आइरन तथा फोलिक एसिड चक्कीलाई १३ हप्ता अर्थात वैशाख १२ गतेसम्म खुवाउने छौँ ।’’













