लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
धनगढी, १४ माघ । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक जनालाई ब्राउन सुगर र अर्कालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–५ चौरीका २७ वर्षीय हरिश ढकाललाई लागुऔषधको रुपमा प्रयोग हुँदै आएको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । उनले आफ्नो हेल्थ क्लिनिकबाट प्रतिबन्धित औषधि बिक्री गर्दै आएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनको क्लिनिकमा खानतलास गरी ५२ पत्ता ट्रामाडोल, ४६ पत्ता आइपी एभिल–५० बरामद गरेको छ । उनीविरुद्ध पनि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप भइसकेको र अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जानकारी दिए ।
यस्तै ब्राउन सुगरसहित पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–२ मिलन टोलकी ३२ वर्षीया अनिता भाट रहेकी छन् । उनले बिक्री वितरणका लागि आफ्नो घरमा ब्राउन सुगर लुकाएर राखेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उनको घरबाट छ वटा पुरियामा लुकाइ राखेको अवस्थाबाट २० ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीविरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गराएर अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।













