वार्ता र संवादबाटै समस्याको समाधान खोजौंः आयोग

कैलाली, ११ माघ । स्वास्थ्य तथा शिक्षा निःशुल्क हुनुपर्ने लगायतका ५२ बुँदे माग राखी गत पुस ३ गतेदेखि काठमाडौंमा धर्नामा रहेका नेपाल कम्युनिष्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहलगायतका व्यक्तिहरूलाई प्रहरीले पटकपटक पक्राउ गरेको तथा निजहरू आमरण अनसनमा रही स्वास्थ्य अवस्था गम्भीर रहेको सम्बन्धमा राष्ट्रिय मानब अधिकार आयोग बागमती प्रदेश कार्यालयले अनुगमन गरेको छ ।

अनुगमनको क्रममा निजहरूलाई धर्ना तथा अनसनमा रहेको बखत पटकपटक पक्राउ गरी छोड्ने गरिएको तथा निजहरूको स्वास्थ्यमा समस्या देखिएपश्चात् चावहिलस्थित एक अस्पतालमा भर्ना गरिएको पाइएको छ । भरत धनाडी र ललन सिंह अस्पतालमा अझै अनसनमा नै रहेको तथा निजहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिब डा. टीकाराम पोखरेलको हस्ताक्षर विज्ञप्तीमा जनसरोकारसँग सम्बन्धित उचित मागहरूको सम्बन्धमा आवश्यक सम्बोधन हुन तथा अनसनरत व्यक्तिहरूसँग आवश्यक छलफल र संवाद गरी निजहरूको जीवन रक्षा गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, आफ्ना माग पूरा गराउन आमरण अनसन जस्तो अप्रिय कदम नचाल्न आयोग अनसनरत पक्षलाई समेत आग्रह गर्दछ